विदुर । मनसुन अनुकूल भएसँगै नुवाकोट जिल्लामा धान रोपाइले तीव्रता पाएको छ । हालसम्म जिल्लामा कुल धान खेतीयोग्य क्षेत्रफलको ७३ प्रतिशत अर्थात् ९ हजार ५६६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास कार्यालय नुवाकोटका सूचना अधिकारी प्रवेश आचार्य दिनुभएको जानकारी अनुसार शुक्रबार सम्मको विवरण अनुसार जिल्लामा उक्त प्रतिशत हेक्टर जमिनमा रोपाइँ सकिएको हो ।
उहाँका अनुसार जिल्लामा धान खेतीका लागि १३ हजार १३१ हेक्टर जमिन रहेको छ । जसमा ९हजार ५सय ६६ हेक्टरमा रोपाइँ सकिएको छ । स्थानीय तहगत रूपमा हेर्दा दुप्चेश्वर गाउँपालिकाले सबैभन्दा पहिले शतप्रतिशत धान रोपाइँ सम्पन्न गरेको छ । त्यसपछि पञ्चकन्या गाउँपालिकामा ९० प्रतिशत, सूर्यगढीमा ८६ प्रतिशत, लिखुमा ८४ प्रतिशत, किस्पाङमा ८३ प्रतिशत, ककनीमा ८० प्रतिशत, तारकेश्वरमा ७८ प्रतिशत, शिवपुरीमा ७५ प्रतिशत, म्यागङमा ७२ प्रतिशत, तादीमा ६९ प्रतिशत र विदुर नगरपालिकामा ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिकामा भने हालसम्म ५० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ, जुन जिल्लामै सबैभन्दा कम हो । बेलकोटगढीका कतिपय धानखेतहरु आकाशले पानीको भर पर्नुपर्ने भएकाले रोपाईमा ढिला भएको कार्यालयले जनाएको छ ।
यस वर्ष समयमै मनसुन सक्रिय र खोला खेत भएका स्थानमा भने अधिकांश किसानले रोपाइँ कार्य सहज रूपमा अघि बढाएका छन् । यद्यपि केही स्थानमा पर्याप्त सिँचाइ सुविधा नहुँदा तथा रोपाहार (रोपाइ गर्ने जनशक्ति) को अभावका कारण रोपाइ केही ढिलो भएको कृषि प्राविधिकहरू बताउँछन् । आगामी केही दिन अनुकूल मौसम रहे बाँकी क्षेत्रमा पनि रोपाइँ सम्पन्न हुने कार्यालयले जनाएको छ । नुवाकोटका विदुर, लिखु, तादी, बेलकोटगढी, पञ्चकन्या र दुप्चेश्वरका फाँटहरू जिल्लाका प्रमुख धान उत्पादन क्षेत्र मानिन्छन् । यी क्षेत्रका उर्वर फाँटहरूमा पर्याप्त सिँचाइ सुविधा भएकाले कतिपय स्थानमा वर्षमा तीन बालीसम्म उत्पादन हुँदै आएको छ । धानपछि गहुँ, मकै तथा तरकारी खेतीसमेत गरिने भएकाले यी क्षेत्र जिल्लाको कृषि उत्पादनका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छन् ।
नुवाकोट लामो समयदेखि गुणस्तरीय धान र चामल उत्पादनका लागि प्रसिद्ध जिल्लाका रूपमा परिचित छ । यहाँ उत्पादन हुने चामल स्वाद, सुगन्ध र गुणस्तरका कारण काठमाडौं उपत्यकासहित छिमेकी जिल्लाहरूमा समेत उच्च माग हुने गरेको छ । यही कारण नुवाकोटमा उत्पादित चामल अन्य धेरै जिल्लाको चामलको तुलनामा उच्च मूल्यमा बिक्री हुने गरेको किसानहरूको अनुभव छ ।
कृषि कार्यालयले समयमै मल, बीउ, सिँचाइ र प्राविधिक सेवाको उपलब्धतासँगै मौसम अनुकूल रहे यस वर्ष धान उत्पादन पनि उत्साहजनक हुने अपेक्षा गरेको छ । किसानहरू पनि राम्रो उत्पादन हुने आशामा धानबालीको गोडमेल, मल व्यवस्थापन र रोग–कीरा नियन्त्रणमा जुटिरहेका छन्। यद्यपि किसानहरुका लागि मलको समस्या भने गतवर्षहरुमा जस्तै छ । एक बोरा मलका लागि किसानले निकै सास्ती व्यहोर्दै आउनु परेको बेलकोटगढीका किसान गोविन्द दाहालले नुवाकोट पुकारलाई बताए । उनले समयमा धान रोपाइ गर्न पाएपनि मलको समस्या भने उस्तै भएकाले आफूहरुमा चिन्ता थपिएको समेत बताए ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्