वाग्मतीसहित तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १०, आईतवार ०७:५४

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले ती क्षेत्रमा बाढी, पहिरो, गेग्रान बग्ने तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।


महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपास रहेकाले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी प्रदेशको तराई क्षेत्रमा मौसम केही खुले पनि अन्य स्थानमा बादल लागेको अवस्था छ भने कोसी, वाग्मती र कर्णालीका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा वर्षा भइरहेको छ।
आज दिउँसो पहाडी र हिमाली भूभागका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै वाग्मती र गण्डकीका तराईका केही स्थान तथा कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि देशभर बदली कायम रहने र कोसी, वाग्मती तथा गण्डकीका पहाडी र हिमाली क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा राति पनि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य सेवा र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *