काठमाडौं । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच प्रदेश सरकारका विषयमा भएको नयाँ राजनीतिक सहमतिपछि नेपाली काँग्रेसले आफ्नो रणनीति तय गर्न सातै प्रदेशका नेतासँग परामर्श गरेको छ।
आइतबार पार्टी मुख्यालय सानेपामा सभापति गगन थापाको उपस्थितिमा सातै प्रदेशका सभापति, संसदीय दलका नेता तथा काँग्रेस नेतृत्वका मुख्यमन्त्रीहरूसँग छलफल गरिएको हो। बैठकमा प्रदेश सरकारको बदलिएको राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेशमा सम्भावित सत्ता समीकरणका विषयमा विचार–विमर्श भएको बताइएको छ।
वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार प्रत्येक प्रदेशको राजनीतिक अंकगणितका आधारमा सरकारमा सहभागी हुने वा प्रतिपक्षमा रहने विषयमा आवश्यक निर्णय गरिनेछ। लोकतन्त्र र संघीयता स्वीकार गरी निर्वाचनमार्फत प्रतिनिधित्व गरेका दलहरूसँग सहकार्यको सम्भावनाबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभयो।
एमाले–नेकपा सहमतिपछि विशेषगरी वागमती, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका लागि अन्य दलको समर्थन निर्णायक बन्न सक्ने अवस्था देखिएकाले काँग्रेसले प्रदेशगत रणनीति तयार पार्न परामर्श अघि बढाएको जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्