काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङ सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। करिब ८० महिनाको निर्माण अवधिपछि सञ्चालनमा आएको यो परियोजनालाई देशको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।
भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।
आयोजनाका अनुसार सुरुआती तीन महिनासम्म परीक्षणकालका रूपमा सञ्चालन गरिनेछ। यस अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। परीक्षण सफल भएपछि अन्य सवारीसाधनलाई पनि क्रमशः सञ्चालनको अनुमति दिइने जनाइएको छ।
परीक्षण अवधिभर कुनै शुल्क नलाग्ने भए पनि नियमित सञ्चालनपछि सवारीको प्रकृतिअनुसार शुल्क लाग्नेछ। सडक विभागले कार, भ्यान, मिनीबस, ट्रक तथा ठूला बसका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरेको छ।
सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा पेट्रोलियम पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई प्रवेश गर्न नदिइने व्यवस्था गरिएको छ।
परियोजनाअन्तर्गत २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ र २.५५ किलोमिटर लामो उद्धार सुरुङ निर्माण गरिएको छ। सुरुङभित्र सिसिटिभी, सञ्चार प्रणाली, आगलागी नियन्त्रण, आकस्मिक उद्धार तथा अक्सिजन आपूर्ति लगायत आधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ।
काठमाडौंको चन्द्रागिरि–१ दहचोक टोटीपाखाबाट सुरु भएर धादिङको धुनिबेँसीस्थित सिस्नेखोलासम्म जोडिएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको ट्राफिक जाम र घुमाउरो बाटोको समस्या घट्ने तथा यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।
जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा करिब २५ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो परियोजना कोभिड–१९ महामारी, प्राविधिक चुनौती तथा अन्य कारणले प्रारम्भिक लक्ष्यभन्दा निकै ढिलो सम्पन्न भएको हो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्