–शुकदेव दाहाल
नुवाकोट । नेपालका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको, निजी विद्यालयतर्फ आकर्षण बढेको र शैक्षिक गुणस्तरमाथि प्रश्न उठिरहेका बेला नुवाकोटको पृथ्वी माध्यमिक विद्यालयले भने फरक पहिचान बनाएको छ । जिल्लामात्र होइन, देशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये आफ्नो स्थान बनाउन सफल पृथ्वी मावि आज हजारौँ अभिभावकको पहिलो रोजाइ बनेको छ।
गत वर्ष (२०८२) को एसईई परीक्षामा विद्यालयका नौ जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरे । विद्यालयबाट सहभागी कुल ९२ जना विद्यार्थीमध्ये ९ जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन्।
त्यसैगरी, ३.६० भन्दा माथि जीपीए ल्याउने ४५ जना, ३.२० भन्दा माथि ३० जना तथा २.८० भन्दा माथि १६ जना विद्यार्थी रहेका छन्। समग्रमा ९१ जना विद्यार्थी ग्रेडेड भएका थिए । पृथ्वी माध्यमिक विद्यालयको यो सफलता नुवाकोट जिल्लाकै शैक्षिक क्षेत्रका लागि प्रेरणादायी उपलब्धि मान्न सकिन्छ ।
परीक्षामा सहभागी विद्यार्थीमध्ये एक जना परीक्षाकै क्रममा भएको दुर्घटनामा ज्यान गुमाएकाले नन–ग्रेडिङमा परे । अन्यथा विद्यालयले शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गर्ने अवस्था थिया । यसअघि पनि विद्यालयले प्रदेशस्तरमै उत्कृष्ट नतिजा दिँदै आएको इतिहास छ ।
आज पृथ्वी माविमा करिब एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयको क्षमता र शिक्षक दरबन्दीभन्दा धेरै गुणा बढी विद्यार्थी भर्नाका लागि आवेदन पर्ने भएकाले प्रवेश परीक्षा अनिवार्य बनाइएको छ । प्रवेश परीक्षामा कसको छोरा–छोरी हो भन्ने होइन, को सक्षम र योग्य छ भन्ने आधारमा छनोट हुने व्यवस्था छ । यो प्रक्रिया निश्पक्षताको सर्वब्यापी मान्यताभित्र पर्दछ । यदि यसमा केही फैफियत छ भने प्रश्न उठाउन सकिन्छ । सीमित सिट हुँदा केही विद्यार्थी भर्ना हुन नसक्नु स्वाभाविक हो ।
यही विषयलाई आधार बनाएर विद्यालयमाथि अतिरिक्त शुल्क, भर्ना प्रक्रिया लगायतका आरोप सार्वजनिक गरिनु र राजनीतिक रंग दिन खोजिनु दुःखद देखिन्छ । कुनै पनि गुनासो प्रमाणका आधारमा छानबिन हुनु लोकतान्त्रिक अभ्यास हो । तर राजनीतिक पूर्वाग्रह राखेर एउटा सफल शैक्षिक संस्थाको प्रतिष्ठामाथि प्रहार गर्नु उचित कदापी उचित मान्न सकिदैन ।
पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछानेले विद्यालयको सफलता कुनै एक व्यक्तिको होइन, शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारको साझा मेहनतको परिणाम भएको बताउँदै आउनुभएको छ। लामो समयको नेतृत्व, स्पष्ट शैक्षिक दृष्टिकोण, अनुशासन र निरन्तर मेहनतबिना कुनै पनि सामुदायिक विद्यालय आजको अवस्थामा पुग्न सक्दैन ।
आज देशभर सयौँ सामुदायिक विद्यालय विद्यार्थी अभावका कारण गाभिन बाध्य भइरहेका छन । कतिपय विद्यालयमा कक्षाकोठा खाली छन्, शिक्षक र विद्यार्थीको अनुपात असन्तुलित छ, नतिजा कमजोर छ । यस्तो अवस्थामा एउटा सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै हजारौँ विद्यार्थीको विश्वास जित्नु सामान्य उपलब्धि होइन । यो सम्पूर्ण नुवाकोटका लागि गर्वको विषय हो ।
आलोचना आवश्यक हुन्छ, तर आलोचना तथ्यमा आधारित हुनुपर्छ । यदि पृथ्वी माविले अपनाएको व्यवस्थापन, अनुशासन, शैक्षिक योजना र नेतृत्व प्रभावकारी छ भने त्यसलाई विवादमा तान्नु भन्दा अध्ययन गरेर अन्य विद्यालयमा पनि लागू गर्ने प्रयास गर्नु बुद्धिमानी हुनेछ ।
सफल संस्थाप्रति ईष्र्या गरेर होइन, त्यसको सफलताको सूत्र पहिचान गरेर अनुकरण गर्दा मात्र सामुदायिक शिक्षाको स्तर उकास्न सकिन्छ। पृथ्वी माविको सफलताले एउटा सन्देश दिएको छ—सही नेतृत्व, प्रतिबद्ध शिक्षक, अभिभावकको विश्वास र पारदर्शी व्यवस्थापन भए सामुदायिक विद्यालय पनि उत्कृष्ट बन्न सक्छ भन्ने कुरा पृथ्वी माविले प्रष्ट पारिसकेको छ । तर नेतृत्व कुन दल वा संघ संगठनसँग नजिक थियो र छ भन्ने आधारमा विद्यालयप्रतिको दृष्टिकोण नकारात्मक बनाउनु त्यो सिंगो विद्यार्थी र अभिभावप्रतिको अपमान शिवाय अरु केही हुन सक्दैन ।
सत्तारुढ दल रास्वपाले विद्यालयका प्रधानाध्यापक लामिछानेको राजनीतिक पृष्ठभूमिसँग जोडेर जुन प्रकारको आक्षेप गराउने प्रयास भएको छ त्यो सरासर गलत छ । विद्यालयका अभिभावकको चाहाना कुन शिक्षकको भित्री आस्था कता छ भन्दा पनि विद्यालयको शैक्षिक गुणस्तर कस्तो छ भन्ने महत्वपूर्ण हुन्छ । गुणस्तरका विषयमा गुनासो आजसम्म सुनिएको छैन । तर रास्वपाका नेता कार्यकर्ताले कुन उदेश्यले किन यसरी आरोप लगाए यो बुझ्न सकिएको छैन, विद्यालयका एक अभिभावकले नुवाकोट पुकारसँग भने । उनले भने,संस्थागत विद्यालयले दिने भन्दा बढि बढि नतिजा पृथ्वीले दिनु प्रअको दोष हो भने भन्नु केही छैन ? नत्र विद्यालयलाई दोष दिने आधार छैन ।
त्यसैले पृथ्वी माविको योगदानलाई विवादको विषय होइन, सामुदायिक शिक्षाको सफल मोडेलका रूपमा हेर्नु आवश्यक छ। सफल नेतृत्वको सम्मान गर्दै त्यही अनुभव अन्य विद्यालयमा विस्तार गर्न सके मात्र नुवाकोट मात्र होइन, समग्र नेपालको सामुदायिक शिक्षा प्रणालीले नयाँ गति लिन सक्छ ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्