रश्मि रिजाल आत्महत्या प्रकरणमा वित्तीय संस्था कर्मचारी संघको चिन्ता,वित्तीय क्षेत्रमा बढ्दो कार्यचापबारे छानबिनको माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ११, सोमबार १८:५९

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (FIEUN) राष्ट्रिय समितिले सानिमा क्यापिटल लिमिटेडमा कार्यरत कम्प्लायन्स अफिसर रश्मि रिजालको आत्महत्याको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ।


संघले आइतबार ध्यानाकर्षण विज्ञप्ति जारी गर्दै दिवंगत रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।


विज्ञप्तिमा प्रारम्भिक रूपमा सार्वजनिक भएका विवरणका आधारमा घटनाबारे विभिन्न प्रश्न उठेको उल्लेख गर्दै वास्तविक कारण, कार्यस्थलको वातावरण, संस्थागत व्यवहार तथा सम्बन्धित पक्षको भूमिकाबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग गरिएको छ। अनुमानका आधारमा निष्कर्ष निकाल्न उपयुक्त नहुने भए पनि निष्पक्ष र पारदर्शी अनुसन्धान आवश्यक रहेको संघको भनाइ छ।


संघले नेपालको बैंक, बीमा, लघुवित्त, पूँजी बजारलगायत वित्तीय क्षेत्रमा पछिल्लो समय कर्मचारीमाथि बढ्दो कार्यचाप, सीमित जनशक्तिबाट अत्यधिक काम गराउने प्रवृत्ति, अव्यावहारिक कार्यसम्पादन लक्ष्य, लामो कार्यसमय तथा मानसिक स्वास्थ्यप्रति संस्थागत बेवास्ताजस्ता समस्या गम्भीर बन्दै गएको जनाएको छ।


यस्ता परिस्थितिले कर्मचारीहरूको मानसिक स्वास्थ्य, पारिवारिक जीवन, पेशागत आत्मविश्वास र कार्यक्षमतामा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै संघले वित्तीय क्षेत्रमा सुरक्षित, मर्यादित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सरोकारवाला निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ।

रिजालले राजधानीकाे तारकेश्व १ मा शनिबार आफ्नै गाडीभित्र आत्महत्या गरेकी थिईन,नुवाकोट तादीकि रिजालको याे घटननलाई लिएर सिंगाे वित्तिय क्षेत्रले दुःख व्यक्त गरेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *