काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीको देवानगञ्जमा भएको आपसी द्वन्द्व तथा विवादबाट जनधनको क्षति भएको र त्यसको प्रभाव कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा समेत फैलिँदा आफूलाई दुःख लागेको बताएका छन्।
आज (बिहीबार ) जारी गरेको ‘सद्भाव सन्देश’ मार्फत पूर्वराजा शाहले नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुधार्मिक रहेको उल्लेख गर्दै सबै समुदायले आ–आफ्नो धर्म, संस्कृति र रीतिरिवाज मान्दै आएको परम्परा नै नेपालको विशिष्ट पहिचान भएको बताएका छन्।
उनले नेपाली विशेषता र गौरवलाई कसैबाट पनि खलल पार्ने काम हुन नहुनेमा जोड दिएका छन्। समाजमा अवाञ्छित घटना तथा दुर्घटना हुनु चिन्ताको विषय भएको भन्दै उनले यस्ता गतिविधि नेपालको मौलिक मूल्य र मान्यताविपरीत रहेको बताएका छन्।
पूर्वराजा शाहले भनेका छन्, ‘जुनसुकै भू–भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौँ। हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो।’
सामाजिक सद्भाव र आपसी एकता कायम राख्न सबै समुदायबीच संयम, सहिष्णुता र भाइचारा आवश्यक रहेको उनको सन्देशमा उल्लेख छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्