हिंसा रोक्न ओलीको अपिल, सरकारलाई तत्काल संवादमा आउन आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १४, बिहीबार १८:०१


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनाव, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा नागरिकको ज्यान गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।


ओलीले आज सिरहामा गणेश यादवको गोली लागेर मृत्यु भएको तथा अन्य नागरिक गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। हिंसा झन् उग्र बन्दै सिरहासहित विभिन्न स्थानमा गोली लागेर थप नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको उनले बताएका छन्।


मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ओलीले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।


अध्यक्ष ओलीले नागरिकहरूबीचको एकता र भ्रातृत्व नै राष्ट्रको बल भएको भन्दै सबैलाई संयमता अपनाउन अपिल गरेका छन्। भ्रामक प्रचारको पछि नलागी सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न एमालेका नेता–कार्यकर्ता, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकलाई उनले आग्रह गरेका छन्।


ओलीले नागरिकको जीउधनको रक्षा गर्नु र संवादमार्फत समस्याको समाधान गर्नु सरकारको प्राथमिक दायित्व भएको बताएका छन्। राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद एवं भर्त्सनायोग्य रहेको उनको आरोप छ।


उनले हिंसात्मक कदम तत्काल रोक्दै अविलम्ब संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका बेला मुख्य राजनीतिक दलहरू आपसी प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नुपर्ने ओलीको भनाइ छ।


‘द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन’ भन्दै ओलीले संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिन सकिने बताएका छन्।


राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको भन्दै ओलीले सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *