सिरहा । सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ।
गृहमन्त्री सुधन गुरुङका अनुसार परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप दुई बुँदा समावेश गर्दै सात बुँदे सहमति गरिएको हो।
सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ।
यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने, गणेश यादवको नाममा पार्क निर्माण गर्ने, उनका बुबाआमाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने तथा शव बुझेर शनिबार नै दाहसंस्कार गर्ने सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए। दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने उनले बताए।
शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताए। अनुसन्धानलाई सहज बनाउन त्यहाँ पठाइएको शव शनिबार हेलिकोप्टरमार्फत सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने उनको भनाइ छ।
गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष अनुसन्धानका लागि स्वतन्त्र छानबिन समिति गठन गरिएको जानकारी दिँदै सुनसरी र सिरहाका घटनाको अनुसन्धान अनुभवी अनुसन्धानकर्ता र विज्ञहरूको टोलीले गर्ने बताए। उनले घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवार र जनतालाई निष्पक्ष अनुसन्धान भएको अनुभूति गराउने सरकारको उद्देश्य रहेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्