नुवाकोट । बेलकोटगढी नगरपालिका–५ निवासी हरिकृष्ण श्रेष्ठ (राजेन्द्र श्रेष्ठ) र कमला श्रेष्ठकी छोरी, श्री कामरुदेवी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत करिस्मा श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।
करिस्माको २०८३ साल असार २२ गते हात भाँचिएपछि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उपचारकै क्रममा ब्यान्डेज गरिएको भागमा गम्भीर सङ्क्रमण फैलिएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका छन्।
चिकित्सकका अनुसार सङ्क्रमित भागमा पेटबाट छाला निकालेर प्रत्यारोपण (स्किन ग्राफ्ट) गर्नुपर्ने अवस्था रहेको छ। साथै, करिस्मालाई अझै करिब दुई महिना अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएकाले थप करिब ३ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।
हालसम्म उपचारमा परिवारको आर्थिक क्षमताभन्दा धेरै खर्च भइसकेको र कमजोर आर्थिक अवस्थाका कारण थप उपचारमा कठिनाइ उत्पन्न भएको परिवारले जनाएको छ।
त्यसैले करिस्माको जीवनरक्षा र उपचारलाई निरन्तरता दिन इच्छुक सहयोगी, समाजसेवी तथा शुभेच्छुक महानुभावहरूलाई उपलब्ध गराइएको QR कोड वा कुमारी बैंक लिमिटेडको खातामार्फत सक्दो आर्थिक सहयोग गरी मानवीय अभियानमा साथ दिन परिवारले हार्दिक अनुरोध गरेको छ।
सानो सहयोगले एक बालिकाको स्वास्थ्य सुधार र भविष्य सुरक्षित बनाउन ठूलो योगदान पुग्न सक्ने भएकाले सहयोगी हातहरू अघि बढाइदिन परिवारले सबैमा अपिल गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्