काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि ग्यास उद्योगीहरूलाई सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ।
शनिबार विज्ञप्ति जारी गर्दै निगमले १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको बिक्री–वितरण सुरु भएयता बजारमा ग्यास अभाव भएको गुनासो प्राप्त भइरहेकाले उद्योगीहरूलाई आपूर्ति नियमित र सहज बनाउन अनुरोध गरेको हो।
निगमले ग्यास बिक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राख्दै व्यवस्थित रूपमा बिक्री–वितरण गर्न पनि निर्देशन दिएको छ।
साथै, ग्यास नपाएको अवस्थामा उपभोक्ताले कार्यालय समयभित्र हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्ने जानकारी निगमले दिएको छ।
निगमका अनुसार एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने भएकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौज्दात नगर्न सबै उपभोक्तासँग आग्रह गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्