एमालेभित्रको प्रतिस्पर्धा सकियो, जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १६, शनिबार १५:०६

काठमाडौं, १६ साउन । बागमती प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्ने सत्ता साझेदारीको सहमतिसँगै मुख्यमन्त्रीका लागि एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया अघि सारिएका छन्। पार्टीले प्रदेश प्रमुखसमक्ष उनको नाममा मुख्यमन्त्री नियुक्तिको दाबी पेस गर्ने तयारी गरेको छ।


मुख्यमन्त्री चयनलाई लिएर केही दिनदेखि एमालेभित्र आन्तरिक प्रतिस्पर्धा देखिएको थियो। प्रदेश सांसद किरण थापा र संसदीय दलका नेता थपलिया दुवैले दाबी गरेपछि पार्टीभित्र व्यापक छलफल चलेको थियो। नेतृत्व तहले सहमति जुटाउने प्रयास गरे पनि अन्ततः संसदीय दलका नेता थपलियालाई नै अघि बढाउने निष्कर्षमा पुगेको हो।


विवाद समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेत तथा बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायत नेताहरूको उपस्थितिमा भएको छलफलपछि थपलियालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको एमाले बागमती प्रदेशका उपाध्यक्ष दावा दोर्जे तामाङले जानकारी दिए।


तामाङका अनुसार थपलिया हाल पनि संसदीय दलको नेताकै जिम्मेवारीमा रहेकाले दलको नेताका लागि पुनः निर्वाचन आवश्यक छैन। प्रदेशसभा सदस्यहरूको बहुमत समर्थनसहित उनको नाम प्रदेश प्रमुखसमक्ष पेश गरिने तयारी भइरहेको उनले बताए।


चितवन निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित थपलिया यसअघि सर्वसम्मत रूपमा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा चयन भएका थिए। पार्टीभित्र सहमति जुटेपछि अब एमालेले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उनलाई मुख्यमन्त्री नियुक्तिका लागि औपचारिक दाबी पेस गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *