संस्थापनइतरको राष्ट्रिय भेलालाई डा. शेखरको पनि समर्थन, सभापतिमा शेखर–शशांकमध्ये एक हुने संकेत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १६, शनिबार १६:४०

पत्रकार सम्मेलनमा अनुपस्थित रहे पनि शेखरले समर्थन जनाए, ५५१ सदस्यीय आयोजक समिति र १६ तयारी समिति गठन


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाएको छ।

शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको जानकारी दिएको हो।


भेलालाई व्यवस्थित, प्रभावकारी र भव्य बनाउन १६ वटा विभिन्न तयारी समिति पनि गठन गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए।


पत्रकार सम्मेलनमा संस्थापनइतर पक्षका अधिकांश शीर्ष नेताको उपस्थिति रहे पनि पछिल्लो समय समूहसँग निकट रहेका नेता डा. शेखर कोइराला भने उपस्थित भएनन्। उनको अनुपस्थितिबारे सञ्चारकर्मीले प्रश्न उठाएपछि आयोजक समिति संयोजक डा. शशांक कोइरालाले आफूले पटक–पटक सहभागी हुन आग्रह गरे पनि कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी शेखरले दिएको बताए।


शशांकका अनुसार, डा. शेखरले राष्ट्रिय भेलाप्रति आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पार्दै उपस्थित हुन नसकेकोमा क्षमायाचना गरेका छन्।


शशांकले भने, “शेखर दाइसँग मैले पटक–पटक अनुरोध गरेँ। उहाँले व्यस्तताका कारण आउन नसक्ने बताउनुभयो। ‘मेरो सहमति त छँदै छ, समाचारमार्फत पनि मेरो समर्थन रहेको जानकारी दिनुहोस्। आउन नसकेकोमा क्षमा चाहन्छु,’ भनेर उहाँले भन्नुभएको छ।”

डा. शेखरको समर्थन सन्देश सार्वजनिक भएसँगै संस्थापनइतर पक्षभित्रको एकता थप बलियो भएको नेताहरूको दाबी छ। आगामी महाधिवेशनमा कांग्रेसको सभापति पदका लागि संस्थापनइतर पक्षबाट डा. शेखर कोइराला र डा. शशांक कोइरालामध्ये एक जना साझा उम्मेदवार बन्ने चर्चा पनि राजनीतिक वृत्तमा तीव्र बनेको छ। राष्ट्रिय भेला त्यसको आधार तयार गर्ने महत्त्वपूर्ण राजनीतिक मञ्चका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *