तस्बिर : फाइल
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। विशेषगरी रसुवाको पासाङल्हामु राजमार्ग त्रिशूली नदीको कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीले आइतबार बिहान ६:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङल्हामु राजमार्ग पूर्ण रूपमा बन्द भएको जनाएको छ। चीनसँगको प्रमुख व्यापारिक तथा आवागमन मार्गका रूपमा रहेको यस सडक अवरुद्ध हुँदा रसुवा जाने–आउने सवारीसाधन पूर्ण रूपमा प्रभावित भएका छन्।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने दोलखाको किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड पनि सामाकोशी खोलाको कटानका कारण बन्द भएको छ। गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो जाँदा लार्के–बेनीघाट कच्ची सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्