काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुने कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
पार्टीभित्र बढ्दो आन्तरिक मतभेद र समानान्तर गतिविधिका बीच बोलाइएको यो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ। विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला बैठक डाकिएकाले यसले पार्टीभित्रको शक्ति सन्तुलन र एकताको प्रयासबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।
देउवा पक्षले सभापति गगन थापासहित वर्तमान नेतृत्वले पार्टी एकताका लागि प्रभावकारी पहल नगरेको आरोप लगाउँदै राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। उक्त भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन भइसकेको छ।
भेलालाई व्यवस्थित बनाउन १६ वटा विभिन्न तयारी समिति पनि गठन गरिएको छ। ती समितिमा राजनीतिक, समसामयिक राजनीतिक, सांगठनिक, विधान मस्यौदा लगायतका विषयगत समिति समावेश छन्।
यही पृष्ठभूमिमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीभित्रको विवाद समाधान, एकता कायम गर्ने प्रयास तथा आगामी राजनीतिक रणनीतिका विषयमा के निर्णय गर्छ भन्ने विषयलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्