नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरावलोकन निवेदन प्रधानन्यायाधीश शर्माको इजलासमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २१, बिहीबार ११:५८

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।


उक्त निवेदन प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेश हुने भएको हो।


यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। सो फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै देउवा र खड्का पक्षले पुनरावलोकनको मागसहित पुनः सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।


पुनरावलोकन निवेदनमा अदालतले ‘निस्सा’ (अनुमति) दिएमा मुद्दाको पुनः सुनुवाइ हुनेछ भने अनुमति नदिए उक्त फैसला अन्तिम हुनेछ।


गत ४ वैशाखमा सर्वोच्चले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई वैधानिक ठहर गरेको थियो। त्यसअघि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्षले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो।


यस प्रकरणमा यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्वाचन आयोगसहित विपक्षी पक्षलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। अब पुनरावलोकन निवेदनमाथिको सुनुवाइले कांग्रेसको आधिकारिकता विवादमा नयाँ कानुनी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *