कोइराला निवास पुनर्निर्माणका लागि छुट्याइएको २ करोड बजेट डा. शेखर कोइरालले गरे फिर्ता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २२, शुक्रबार ११:३१

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोकस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा सम्भारका लागि विनियोजित २ करोड रुपैयाँ बजेट फिर्ता गर्न सरकारसँग आग्रह गरेका छन्।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै डा. कोइरालाले नागरिक चेतनाका धरोहर तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघरका रूपमा रहेको कोइराला निवासको मर्मत तथा सम्भारका लागि आर्थिक वर्ष २०८३/८४ को बजेटमा २ करोड रुपैयाँ विनियोजन गरिएकोमा सरकारलाई धन्यवाद दिएका छन्।


तर राज्यसामु आम नागरिक नै वञ्चना, अभाव र अनेकौँ कष्टमा रहेका बेला सीमित स्रोत–साधनलाई त्यस्ता नागरिकको उत्थानमा प्रयोग गर्नुपर्ने भन्दै उनले कोइराला निवासका लागि छुट्याइएको रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको बताएका छन्।
विराटनगर महानगरपालिका–७ मा रहेको उक्त ऐतिहासिक घर शताब्दीअघि पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेका थिए। कोइराला निवासका रूपमा चिनिँदै आएको उक्त घर गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जलाइएको र त्यसको ऐतिहासिकता भौतिक रूपमा नष्ट भएको डा. कोइरालाले पत्रमा उल्लेख गरेका छन्।


उनका अनुसार कृष्णप्रसाद कोइरालाले शताब्दीअघि शैक्षिक जागरणमार्फत समाज रूपान्तरणको अभियान सुरु गरेका थिए। बीपी कोइरालाको नेतृत्वमा त्यस अभियानले नेपाली जनताको राजनीतिक, बौद्धिक तथा सामूहिक चेतनाको संघर्षमा महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ।


‘कोइराला निवास केवल एउटा घर मात्र नभई आम नेपाली जनताको भरोसा र विश्वासको केन्द्र थियो’ भन्दै डा. कोइरालाले नेपाली जनताको सामूहिक चेतनाको धरोहर, विचार, संगठन, स्वतन्त्रता र राष्ट्रियताको प्रतीकका रूपमा त्यसको महत्व रहेको उल्लेख गरेका छन्।


बीपी कोइराला सम्पूर्ण नेपालीको गाँस, बास र कपासका लागि जीवनभर संघर्षरत रहेको स्मरण गर्दै डा. कोइरालाले राज्यले त्यसतर्फ सम्मान व्यक्त गर्नुपर्ने बताएका छन्। कोइरालाप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्ने हो भने कोइराला निवासका लागि छुट्याइएको बजेट अन्य आवश्यक क्षेत्रमा खर्च गर्नुपर्ने उनको धारणा छ।


उनले मन्त्रालयलाई पठाएको पत्रमा उक्त २ करोड रुपैयाँको बजेट फिर्ता गरी जनताको हितमा उपयोग गर्न आग्रह गरेका छन्। पत्रमा डा. शेखर कोइरालाले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *