काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शुक्रबार मध्यराति सामाजिक सञ्जालमा राखेको एउटा स्टाटसले नेपाली राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।
प्रधानमन्त्री शाहले ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’ भन्दै धैर्य गर्न आग्रह गरेका छन्। उनले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने उल्लेख गर्दै ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन’ भनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाइ जनमतको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक अर्थ लगाउन थालिएको छ। विशेषगरी उनको ‘एक्लै लड्नुपर्छ’ भन्ने अभिव्यक्तिलाई आफ्नै पार्टीभित्रको अवस्था र राजनीतिक सहकार्यसँग जोडेर हेर्न थालिएको छ।
शाहको स्टाटस कर्मचारीतन्त्र, राजनीतिक दल, नागरिक समाज तथा सञ्चारमाध्यमबाट अपेक्षित सहयोग नपाएको गुनासोका रूपमा पनि कतिपयले अर्थ्याएका छन्। यद्यपि प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति कसलाई लक्षित गरेर लेखेका हुन् भन्नेबारे स्पष्ट पारेका छैनन्।
उनको छोटो तर अर्थपूर्ण स्टाटसपछि सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस सुरु भएको छ। सरकार सञ्चालनका क्रममा देखिएका चुनौती, पार्टीभित्रको सम्बन्ध तथा बाह्य राजनीतिक शक्तिसँगको सहकार्यका विषयमा समेत यसलाई जोडेर टिप्पणी भइरहेका छन्।
प्रधानमन्त्री शाहले भने आगामी दिनमा सही समय आउने र त्यसका लागि केही समय लाग्ने संकेत गरेका छन्। ‘नआत्तिनुहोस्’ भन्दै उनले आफूले लिएको बाटोप्रति विश्वास कायम राख्न आग्रह गरेका छन्।
बालेनको पछिल्लो अभिव्यक्तिले सरकार र रास्वपाभित्रको वास्तविक अवस्था के हो भन्ने प्रश्नसमेत उठाएको छ। तर, उनको स्टाटसको वास्तविक सन्देश र लक्षित पक्ष भने आगामी राजनीतिक गतिविधिसँगै थप स्पष्ट हुने देखिन्छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्