नुवाकोट–१ का कांग्रेस इतरपक्षको अगुवा भेला राजधानीमा , भेलमा महतले भने– ‘ वीपीकाे विचार बोक्नेहरू नै सच्चा कांग्रेस’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २३, शनिबार १२:४३


सर्वोच्चको पुनरावलोकन आदेशले एकताको बाटो खोलेको महतको दाबी, हिन्दुराष्ट्रको पक्षमा कांग्रेसले आवाज उठाउनुपर्ने धारणा

काठमाडौं । नेपाली कांग्रेसको इतरपक्षले नुवाकोट क्षेत्र नं. १ मा अगुवा नेता–कार्यकर्ताको भेला सम्पन्न गरेको छ। कांग्रेस नेता डा. प्रकाशशरण महतको नेतृत्वमा राजधानीमा शनिबार आयोजित भेलामा क्षेत्र नं. १ का करिब तीन सय अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।


भेलामा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश महत, बागमती प्रदेश कार्यसम्पादन समिति सदस्य प्रमोद रिमाल बद्री प्रसाद मुडबरी’, जिल्ला उपसभापति सन्तमान तामाङ, सचिव बैकुण्ठ मिश्र , सह सचिव उतम पाठक क्षेत्र नं. १ का सभापति ध्रुव श्रेष्ठ, पूर्व क्षेत्रीय सभापति अर्जुन न्यौपाने, पूर्वमन्त्री कल्पना नेपाली, कांग्रेस नेता महेन्द्र थिङ, कृष्ण लामा,प्रदेश सभापति रामजी पौडेल, कार्यवाहक सभापति हरि दुलाल, नेपाल महिला संघ जिल्ला अध्यक्ष सरिता आचार्य, सूर्यगढी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु ढकाल, दुप्चेश्वर गाउँपालिकाका पूर्वअध्यक्ष योविन्द्रसिंह तामाङ लगायत नेता–कार्यकर्ताको सहभागिता थियो।


भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्श बोकेर हिँड्नेहरू नै सच्चा कांग्रेस भएको दाबी गरे। उनले चारतारा र रुखको चिह्न लिएर मात्रै कोही कांग्रेस हुन नसक्ने बताए।


‘चारतारा र रुख लिँदैमा मात्रै कांग्रेस भइँदैन, कांग्रेसको विचार बोक्नुपर्छ,’ महतले भने।
उनले आफू अझै केही वर्ष कांग्रेसको राजनीतिमा सक्रिय रहने घोषणा गर्दै आगामी दिनमा कांग्रेसले लिने राजनीतिक बाटो तय गर्न यस्ता भेलाहरू महत्वपूर्ण हुने बताए।


महतले मुलुकको वर्तमान अवस्थाप्रति कांग्रेसको वर्तमान नेतृत्वले स्पष्ट राजनीतिक दृष्टिकोण तय गर्न नसकेको आरोपसमेत लगाए। कांग्रेसको आधिकारिकता तथा विशेष महाधिवेशनसँग जोडिएको विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएको विषयले आफूहरूलाई न्याय पाउने आशा जागेको उनको भनाइ थियो।


सर्वोच्चको पछिल्लो आदेशले कांग्रेसभित्र एकताको नयाँ बाटो खोलिदिएको उल्लेख गर्दै उनले सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। आगामी २९ गते हुने भेलामा नुवाकोटवासी कांग्रेस नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता हुनुपर्नेमा उनले जोड दिए।


महतले कांग्रेसले मुलुकको धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै बौद्ध र किरात धर्मलगायत सबै आस्थालाई महत्व दिनुपर्ने बताए। साथै, हिन्दुराष्ट्रको पक्षमा पनि कांग्रेसले आवाज उठाउनुपर्ने उनको धारणा थियो।


बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई स्मरण गर्दै महतले कांग्रेसले समयअनुकूल रूपमा त्यसको मर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए। बीपीको मेलमिलाप नीतिमा प्रजातान्त्रिक राजाको अवधारणा रहे पनि अहिले राजा नरहेको भन्दै उनले हिन्दुराष्ट्रको विषय वर्तमान जनमतसँग जोडिएको दाबी गरे।
भेलामा महतले पछिल्लो निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने नेता–कार्यकर्ता तथा मतदातालाई धन्यवादसमेत व्यक्त गरे।


यसैबीच, आगामी २९ गते हुने कांग्रेसको भेलाका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम तय गरिएको जनाइएको छ। उक्त भेलामा नुवाकोट क्षेत्र नं. १ बाट उल्लेख्य संख्यामा नेता–कार्यकर्ताको सहभागिता गराउने तयारी गरिएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *