प्रधानमन्त्री बालेनको ‘एक्लै लड्नुपरेको’ संकेतमा सांसद मनिष झाको जवाफ : ‘यहाँ कोही एक्लो छैन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २३, शनिबार १३:०९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शुक्रबार राति सामाजिक सञ्जालमार्फत दिएको ‘एक्लै लड्नुपरेको’ संकेतप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जवाफ दिएका छन् ।


शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाले परिवर्तनका लागि प्राप्त जनादेश बोकेको सरकारमा कोही पनि एक्लो नरहेको बताएका छन् ।


झाले लेखेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ।’
उनले प्रधानमन्त्रीले शुक्रबार सदनमा व्यक्त गरेको धारणा स्मरण गर्दै सरकारको नियत र आशयमा आफूहरूको शङ्का नरहेको तर सुधार गर्नुपर्ने केही पक्ष रहेको बताएका छन् ।


‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,’ झाले भनेका छन्, ‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ।’


झाले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने धारणा राख्दै आफू सरकारको साथमा रहेको स्पष्ट पारेका छन् ।
उनले अन्त्यमा लेखेका छन्, ‘जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’

प्रधानमन्त्री शाहले शुक्रबार मध्यराति सामाजिक सञ्जालमा लेखेको अभिव्यक्तिलाई राजनीतिक वृत्तमा विभिन्न कोणबाट व्याख्या भइरहेका बेला रास्वपा सांसद झाको यो प्रतिक्रियालाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रतिको राजनीतिक जवाफका रूपमा हेरिएको छ ।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *