काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले स्तनपान कक्ष स्थापना गर्दै विश्व स्तनपान सप्ताहको समापन गरेको छ ।
काठमाडौंको टेकुस्थित जनस्वास्थ्य कार्यालयमा शुक्रबारदेखि सञ्चालन हुनेगरी स्तनपान कक्ष स्थापना गरिएको हो ।
कार्यालयका कर्मचारी तथा काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मीले उक्त कक्ष प्रयोग गर्न सक्ने जनाइएको छ ।
१६ देखि २२ साउन (१ देखि ७ अगस्ट) सम्म मनाइएको विश्व स्तनपान सप्ताहका अवसरमा स्तनपान कक्ष स्थापना गरिएको हो । ‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने मूल नाराका साथ यस वर्ष विभिन्न कार्यक्रम आयोजना गरी सप्ताह मनाइएको थियो ।
सप्ताहको समापनका अवसरमा जनस्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार स्तनपान प्रवद्र्धनका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा आबद्ध विभिन्न सञ्चारगृहका करिब दुई दर्जन पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा पोषण शाखा प्रमुख लीलाविक्रम थापाले स्तनपान प्रवद्र्धनका लागि सरकारले गरिरहेका प्रयासबारे जानकारी गराए । उनले थापाथलीस्थित प्रसूतिगृहमा २०६९ सालदेखि ब्रेस्ट मिल्क बैंक सञ्चालनमा रहेको जानकारी दिँदै यस वर्ष चितवनस्थित भरतपुर अस्पतालमा पनि ब्रेस्ट मिल्क बैंक स्थापना गर्ने तयारी भइरहेको बताए ।
नेपाल सरकारले स्तनपान प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै थापाले आमाको दूध शिशुको स्वास्थ्य र विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय काठमाडौंकी जनस्वास्थ्य अधिकृत अनिता खनालले नेपालमा स्तनपानको अवस्थाबारे जानकारी गराइन् । उनले स्तनपान प्रवद्र्धनमा गरिने खर्च नभई भविष्यका लागि गरिएको लगानी भएको बताइन् ।
उनले ‘सुनौलो हजार दिन’ अन्तर्गतका आमा र बच्चालाई विशेष प्राथमिकताका साथ ध्यान दिनुपर्नेमा जोड दिँदै आमाको दूधले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । स्तनपानले भविष्यमा हुनसक्ने विभिन्न नसर्ने रोगको जोखिमसमेत कम गर्न सहयोग गर्ने उनको भनाइ थियो ।
उच्च शिक्षा हासिल गरेका आमाहरूले समेत स्तनपान नगराई बोतलबाट दूध खुवाउने गरेको पाइनु चिन्ताको विषय भएको खनालले बताइन् । उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणबारे जनस्वास्थ्य कार्यालयले नियमित अनुगमन गर्दै आएको जानकारीसमेत दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सहसचिव विक्रम रत्नले स्तनपान प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । स्तनपान तथा जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सञ्चारमाध्यमले तथ्यमा आधारित र जनचेतनामूलक सामग्रीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
उनले पत्रकारहरूले जनस्वास्थ्यसँग सम्बन्धित विषयमा संवेदनशील भएर कलम चलाउँदै आएको उल्लेख गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आगामी दिनमा पनि जनस्वास्थ्यका विषयमा सम्बन्धित निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्