बेलकोटगढीका पूर्वमेयर खनाल गम्भीर बिरामी, जनमैत्री अस्पतालमा उपचाररत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २३, शनिबार १५:२३

नुवाकोट । बेलकोटगढी नगरपालिकाका प्रथम मेयर तथा नेकपा एमाले नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनाल गम्भीर बिरामी पर्नुभएको छ।


फोक्सोसँग सम्बन्धित गम्भीर स्वास्थ्य समस्याबाट पीडित खनालको हाल काठमाडौंस्थित जनमैत्री अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।


भारतमा करिब चार महिना उपचार गराएर नेपाल फर्किनुभएका खनाललाई केही दिनअघि पुनः स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उहाँका भाइ रमेश खनालले जानकारी दिनुभयो। उहाँका अनुसार खनालको अवस्था अहिले चिन्ताजनक रहेको छ।


बेलकोटगढी नगरपालिका स्थापनापछि पहिलो मेयर बन्नुभएका खनालले नगरपालिकाको संस्थागत विकास तथा पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। स्थानीय तहको विकास र नगरपालिकाको प्रारम्भिक संरचना निर्माणमा उहाँको योगदानलाई महत्वपूर्ण रूपमा लिइन्छ।


खनालको स्वास्थ्य अवस्थाबारे जानकारी पाएपछि उहाँका शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयवासीले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *