कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनको तयारीदेखि पार्टीभित्रको विवादसम्म छलफल हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २४, आईतवार १०:३१



काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक तथा पार्टीगत परिस्थितिबारे आवश्यक निर्णय लिन आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

सभापति गगन थापाका अनुसार बैठक केही दिनसम्म चल्नेछ। बैठकबाट पार्टीका सन्दर्भमा गर्नुपर्ने महत्वपूर्ण निर्णयहरू गरिने र त्यसपछि महाधिवेशनको प्रक्रिया अघि बढाइने तयारी छ।
थापाले केन्द्रीय कार्यसमिति बैठकपछि पार्टीको महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताएका छन्। उनका अनुसार बैठक दुईदेखि तीन दिनसम्म चल्ने सम्भावना छ।


पार्टीको संस्थापन इतर समूहले यही साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो। इतर समूहले पार्टीभित्रको विवाद समाधानका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ राजनीतिक दल गठनसम्मको विकल्पमा जाने चेतावनी दिँदै आएको थियो।


यसबीच सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खुला गरेपछि तत्काल पार्टी विभाजनको सम्भावना भने केही कमजोर बनेको छ। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई पुनः सुरुदेखि सुनुवाइ गर्ने आदेश दिएपछि पार्टीभित्रको आगामी रणनीतिबारे थप छलफल हुने देखिएको छ।


प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सुनुवाइ गर्न आदेश दिएको थियो।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न शनिबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो। कांग्रेसमा केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठकमार्फत छलफलका विषय तथा एजेन्डा तय गर्ने अभ्यास रहँदै आएको छ।


आजको बैठकमा पार्टीको आन्तरिक विवाद, महाधिवेशनको तयारी, पछिल्लो राजनीतिक परिस्थितिसहित समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *