काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको सम्पूर्ण एकताका लागि सभापति गगन थापा नै निर्णायक रूपमा अग्रसर हुनुपर्ने बताएका छन्।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि सामाजिक सञ्जालमा कांग्रेसकै नेताकार्यकर्ताबीच भइरहेका टीकाटिप्पणीप्रति चिन्ता व्यक्त गर्दै खड्काले अहिलेको पहिलो आवश्यकता पार्टीको सम्पूर्ण एकता भएको बताएका हुन्।
खड्काले सामाजिक सञ्जालमार्फत पार्टीका अग्रज नेता, विभिन्न तहमा जिम्मेवारीमा रहेका नेता–कार्यकर्ता तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहका नेता–कार्यकर्तालाई पार्टी एकताका लागि सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गर्न अपिल गरेका छन्।
उनले वर्तमान अवस्थामा देशको राष्ट्रियता प्रतिकूल र संकटापन्न अवस्थामा पुगेको तथा लोकतान्त्रिक संविधानलाई धरापमा पार्ने षड्यन्त्र भइरहेको दाबी गर्दै कांग्रेससमेत इतिहासकै कमजोर र प्रतिकूल अवस्थामा रहेको उल्लेख गरेका छन्। यस्तो अवस्थामा संवाद, सहमति र त्यसबाट सुदृढ एकता निर्माण गर्नु अपरिहार्य रहेको उनको भनाइ छ।
खड्काले पार्टीभित्रका जिम्मेवार व्यक्तिहरूलाई व्यक्तिगत महत्त्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ एकताका लागि तत्काल निर्णायक पहल गर्न आग्रह गरेका छन्।
सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सालाई कांग्रेसको सम्पूर्ण एकता कायम गर्ने ‘अन्तिम अवसर’का रूपमा लिनुपर्ने उनको धारणा छ।
सभापति गगन थापालाई विशेष आग्रह गर्दै खड्काले पार्टी एकताका लागि तत्काल अग्रसर हुन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्र मोर्चामा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ।’
तर पार्टी एकताका लागि निर्णायक भूमिका सभापति थापाकै हुने स्पष्ट पार्दै खड्काले भनेका छन्, ‘निर्णायक तपाईं हो–तपाईं।’
उनले पार्टी र भ्रातृ–शुभेच्छुक संस्थाका सबै तहका नेता–कार्यकर्तालाई एकताका लागि वातावरण निर्माण गर्न विशेष अपिलसमेत गरेका छन्।
राष्ट्र रहे मात्रै बहुदलीय लोकतन्त्र र राजनीतिक दलहरू रहने भन्दै खड्काले आपसी गालीगलौज र सामाजिक सञ्जालको दोहोरीले पार्टीलाई कुनै गन्तव्यमा नपुर्याउने बताएका छन्। सामाजिक सञ्जालमा भइरहेको यस्तो प्रवृत्ति अन्त्य गरी पार्टीको एकताका लागि सबै एकजुट हुनुपर्ने उनको आग्रह छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्