नुवाकोट । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किन लागेको विषयमा कांग्रेसकै संस्थापन पक्षका नेताहरूबाट विरोध भइरहेका बेला नेकपा नुवाकोटका नेता तथा तादी गाउँपालिकाका अध्यक्षका प्रत्यासी किरण रिजालले देउवाको स्वदेश फिर्तीलाई सामान्य रूपमा मूल्यांकन गर्न नहुने बताएका छन्।
रिजालले भिडियो सन्देशमार्फत देउवाको राजनीतिक योगदानलाई स्मरण गर्दै ४७ वर्षसम्म देश, जनता र प्रजातन्त्रका लागि संघर्ष गरेका नेताको योगदानलाई अवमूल्यन गरिए इतिहासले धिक्कार्ने बताएका हुन्।
‘जीवनको ४७ वर्ष देश, जनता र प्रजातन्त्रका लागि लडेका नेता हुन् शेरबहादुर देउवा। उहाँको सामान्य मूल्यांकन मात्रै गरियो भने इतिहासले तपाईं–हामी सबैलाई धिक्कार्छ,’ रिजालले भनेका छन्।
उनले देउवा शासनसत्तामा रहँदा गरेका कमजोरी वा कानुनविपरीतका काम भए त्यसलाई कानुनी प्रक्रियामार्फत सम्बोधन गर्न सकिने बताएका छन्। तर, देउवा र नेपाली कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ।
रिजालले जीवनका उर्वर समय मुलुकका लागि खर्चिएका देउवा स्वदेश फर्कने क्रममा वर्तमान सरकारले अमानवीय व्यवहार गर्दै पक्राउ गर्न खोजे त्यो सरकारकै लागि प्रत्युत्पादक हुने चेतावनीसमेत दिएका छन्।
‘कानुनविपरीत काम भएको छ भने कानुनको दायरामा ल्याउन सकिन्छ। तर, जीवनका महत्वपूर्ण वर्षहरू मुलुकका लागि खर्चिएका व्यक्तिको योगदानलाई अवमूल्यन गर्नु उचित हुँदैन,’ रिजालले आफ्नो सन्देशमा जोड दिएका छन्।
रिजालको उक्त भिडियो सन्देश पछिल्लो समय सामाजिक सञ्जालमा कांग्रेसका नेता तथा कार्यकर्ताले समेत शेयर गरिरहेका छन्। देउवाको स्वदेश फिर्तीको विषयमा राजनीतिक वृत्तमा बहस चलिरहेका बेला नेकपा नेताको यस्तो धारणा सार्वजनिक भएको हो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्