विरोधीलाई गाली नगर्न शशांकको सुझाव– ‘मौन रहनु नै ठूलो जवाफ हो’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २५, सोमबार १९:२४


काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आफूहरूले पहल गरिरहेको बताएका छन्।


सोमबार काठमाडौँमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै नेताहरूले पार्टीभित्रका सबै पक्षलाई समेटेर संगठनलाई थप बलियो र एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका हुन्।


कांग्रेस नेता शशांक कोइरालाले पार्टीभित्रका विरोधी वा अन्य नेताहरूलाई गाली–गलौज गर्नुभन्दा मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाफ हुने बताए। पार्टीका सबै पक्षलाई समेटेर एकताबद्ध बनाउनु अहिलेको मुख्य प्राथमिकता रहेको भन्दै उनले सबैको साथ र सहयोग लिएर अघि बढ्नुपर्ने धारणा राखे।


संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस समयक्रममा अझ निखारिँदै जाने दाबी गर्दै कोइरालाले देशको भविष्य कांग्रेसमै सुरक्षित रहेको बताए।


कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीलाई समग्र रूपमा एकताबद्ध बनाउन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा राखेर अघि बढ्नुपर्ने बताए। उनले तीन दिने राष्ट्रिय भेला कुनै व्यक्तिको पद वा स्वार्थका लागि नभई पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आयोजना गरिएको स्पष्ट पारे।


त्यस्तै, नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतको फैसलाले पार्टी एकताको बाटो खुला गरेको भन्दै अब संयमित, धैर्यवान् र उत्साहवर्द्धक ढङ्गले देशभर पुगेर आफ्ना धारणा राख्ने बताए। कांग्रेसका नेता तथा कार्यकर्ता व्यक्तिगत स्वार्थका लागि नभई देश र राष्ट्रको सेवा गर्ने उद्देश्यले संगठित भएको उनको भनाइ थियो।
सिटौलाले विशेष महाधिवेशनबाट आएको नेतृत्वले अधिनायकवादी शैली अपनाएको आरोपसमेत लगाए।


कांग्रेस नेता मोहन बस्नेतले पार्टीलाई फुटाउने नभई थप बलियो, जाँगरिलो, ठूलो र सशक्त बनाउने उद्देश्यले अभियान सञ्चालन भइरहेको बताए। मुलुकको भविष्य हाँक्न सक्ने हैसियतको कांग्रेस निर्माण गर्नु अभियानको उद्देश्य रहेको उनको भनाइ थियो।


बस्नेतले साउन २८ गतेसम्म सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधानका लागि निकास नदिए साउन २९ गतेदेखि नयाँ कार्यदिशा तय गर्दै पार्टीले नयाँ सुरुवात गर्नसक्ने चेतावनी दिए।
कांग्रेसभित्र पछिल्लो समय नेतृत्व, महाधिवेशन र पार्टी सञ्चालनको विषयलाई लिएर दुई पक्षबीच मतभेद बढिरहेका बेला संस्थापनइतर समूहले राष्ट्रिय भेला तथा आन्तरिक छलफललाई तीव्रता दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *