काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय भेला यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भन्दै कांग्रेस इतर पक्षले भेला स्थगित नभएको स्पष्ट पारेको छ ।
कांग्रेस इतर पक्षका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेला स्थगित भएको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
विश्वकर्माले जारी गरेको भनाइमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रा.डा. शशांक कोइरालाको नेतृत्वमा हुने भेलालाई शीर्ष नेताहरूको समर्थन रहेको उल्लेख छ । साथै कांग्रेस सभापति शेरबहादुर देउवा साउन २८ गते दिउँसो १२ बजे स्वदेश फर्किएर भेलालाई सम्बोधन गर्ने दाबी गरिएको छ ।
अदालतबाट मुद्दा पुनरावलोकनका लागि अनुमति समेत प्राप्त भइसकेको अवस्थामा आफूहरूलाई डराएको र हतास मानसिकताको उपजका रूपमा कार्यक्रमबारे जथाभावी प्रचार गरिएको आरोप इतर पक्षले लगाएको छ ।
भेला स्थगित भएको भन्दै संयोजकको किर्ते हस्ताक्षरसमेत प्रयोग गरी तथाकथित तथा नक्कली विज्ञप्ति जारी गरिएको पाइएको भन्दै विश्वकर्माले गम्भीर आपत्ति जनाएका छन् ।
उनले कांग्रेसका जिम्मेवार नेता तथा कार्यकर्तालाई त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत गराएका छन् । साथै राष्ट्रिय भेला स्थगित नभएको र निर्धारित मितिमै हुने दाबी गरिएको छ ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्