प्रधानमन्त्रीलाई अर्जुननरसिंह केसीको प्रश्न– ‘एक्लै हिँड्ने लहड हो कि एक्लै पर्नुभएको हो ?’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २६, मंगलवार १५:५५



काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका नेता तथा संघीय प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री एक्लै अघि बढ्न खोजेको हो कि राजनीतिक रूपमा एक्लिँदै गएको हो भन्दै प्रश्न गरेका छन्।


‘आजको सुन्दर समय’मा प्रस्तुत विचारमार्फत नेता केसीले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बन्न आग्रह गरेका हुन्। उनले देश र जनताको हितमा सिङ्गो संसद प्रधानमन्त्रीको साथमा रहे पनि संसदलाई उपेक्षा गरेर अघि बढ्न नहुने बताएका छन्।
केसीले प्रधानमन्त्रीको संसदप्रतिको जवाफदेहिता ऐच्छिक नभई संवैधानिक कर्तव्य भएको उल्लेख गरेका छन्।


उनले संवैधानिक संस्थाहरू कार्यपालिकाको छायाँ बन्दै गएको आरोपसमेत लगाएका छन्। सरकारका केही राम्रा प्रयासहरू भए पनि ती हचुवा, विधिहीन र प्रक्रियाहीन देखिएको उनको टिप्पणी छ।
‘लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ’ भन्ने मान्यता सरकारको कामकारबाहीमा पर्याप्त रूपमा नदेखिएको केसीको भनाइ छ।


सरकारले सत्तामा आएको सय दिनमै एक लाख युवा फर्काउने प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले त्यसको कार्यान्वयनबारे प्रश्न उठाएका छन्। किसानहरू मलको अभावमा रहेको, भान्सामा ग्यासको समस्या रहेको र जनता महँगीको मारमा परेको उनले बताएका छन्।


त्यस्तै, बिजुलीको अनिश्चितता, राहदानी बनाउन देखिएको लामो लाइन, सुकुम्बासीको समस्या तथा बढ्दो बेरोजगारीप्रति पनि केसीले सरकारको ध्यानाकर्षण गराएका छन्।


उनले सरकार स्थिर र सफल होस् भन्ने आफ्नो कामना रहेको स्पष्ट पार्दै सरकारको कार्यशैलीप्रति भने व्यंग्यात्मक टिप्पणी गरेका छन्।
‘जो हो नबर्सने मेघ, उसैको हुन्छ घर्घर’ भन्ने उखान उद्धृत गर्दै केसीले सरकारको प्रतिबद्धता भाषण र घोषणामै सीमित नहोस् भन्ने संकेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *