नेपाली कांग्रेस कास्कीका सभाछ किशोरदत्त बरालले पार्टी सभापति गगन थापालाई कठिन समयमा साहसिक निर्णय लिएर नेपाली कांग्रेसको भविष्यलाई नयाँ दिशा दिन आग्रह गरेका छन्।
कास्कीबाट बरालले मंगलबार बिहान ४ बजे गगन थापालाई सम्बोधन गर्दै लामो पत्र सार्वजनिक गरेका हुन्। उनले थापाले राजनीति र जनताको हृदय जितिसकेको भन्दै आलोचक तथा पार्टीभित्रका असन्तुष्ट पक्षका मागसमेत पूरा गरेर १५औँ महाधिवेशनका लागि सहमतिको वातावरण बनाउन आग्रह गरेका छन्।
बरालले सबैको सहमतिमा महाधिवेशन गर्न अधिकारसम्पन्न समिति गठन गरी केन्द्रीयदेखि प्रदेश, जिल्ला र मातहतका सबै कार्यसमिति भंग गरेर बाटो खुला गर्न सुझाव दिएका छन्। उनले कठिन समयमा ठूलो कुरा बोल्नुभन्दा ठूलो निर्णय गर्ने साहस आवश्यक रहेको उल्लेख गर्दै थापाले आज गर्ने निर्णयले कांग्रेसको भावी इतिहासलाई नयाँ बाटो दिन सक्ने बताएका छन्।
उनले पत्रको अन्त्यमा ‘राजनीतिमा सबै कुरा जित्नु पर्दैन, कहिलेकाहीँ केही कुरा छोडेर पनि इतिहास जित्नुपर्छ’ भन्दै थापालाई महान् बन्ने अवसर रहेको बताएका छन्।
बरालको पत्र
गगनजी जय नेपाल ।
हिजो तपाईं नेतृत्वको कार्यसमितिलाई सम्बोधन गरेर एउटा लामै पत्र सम्प्रेषण गरेको थिए । ब्यस्तताले पढ्न नभ्याउनु भएको हुनसक्छ । आज बिहान करिब ३ बजे ब्युझिएछु । निन्द्रा लागेन । धेरै कुरा मनमा खेले । मनको खुल्दुलीले यो पत्र जन्माएछ । कहिलेकाही निन्द्रा नलाग्दा पनि राम्रै हुँदै रहेछ कि कुन्नि ।
गगनजी,
तपाईंले राजनीति जितिसक्नुभएको छ , हृदय जितिसक्नुभएको छ ।
दाजुहरुले के भन्नु भयो ? के भन्न लगाउनु भयो ?; दाजुहरुले कति गाली गर्नु भयो ? कति गाली गर्न लगाउनु भयो ?; दाजुहरुले मुद्दा फिर्ता लिनुहुन्छ , लिनुहुन्न । दाजुहरुको पछाडि कति जनमत छ वा छैन ? यी सबै तपसिलका कुराहरु हुन । झिनामसिना कुराहरुहुन । यस्ता कुराहरु किसुनजीले भन्नुभए जस्तैः सचेत बिस्मृतिमा राखेर अगाडि बढ्नुहोस । तपाईंको राजनीतिक राजमार्ग खुला छ, सफा छ । ढुक्क हुनुहोस ।
दाजुहरुको सबै माग पुरा गरिदिनुहोस। नेतृत्व भनेको आफ्ना आलोचकहरुलाई पनि निश्चिन्त भएर सुत्न सक्ने वातावरण बनाईदिनु पनि हो । दाजुहरुलाई राम्रो सग सुत्न दिनुहोस् , निदाउन दिनुहोस् । फेरि यसो गर्न खोज्दा तपाईंलाई रोक्न खोज्नेहरु पनि उतिकै हुन्छन् । तपाईंको वरिपरि पनि तपाईंको दौराको फेरो समातेर मात्रै बैतर्णी तर्न सक्नेहरुको संख्या पनि सानो छैन , गम्भीर हुनुहोस् ।
दाजुहरुकै माग अनुसार दाजुहरुले नै भनेका मानिसहरु समेत राखेर के के समिति बनाउनु पर्ने हो बनाउछु भन्नु भएकै छ बनाउनुहोस । दुनियाँले राम्रो सग देख्न , सुन्न र महशुस गर्न सक्ने गरि सबैको सहमतिमा १५औ महाधिवेशन गर्नका लागि आवस्यक पर्ने सबै अधिकारहरु प्रत्यायोजन गरेर एउटा अधिकार सम्पन्न समिति बनाईदिनुहोस , केन्द्रिय कार्यसमिति देखि प्रदेश, जिल्ला र मातहतका सबै कार्यसमितिहरु भङ्ग गरिदिनुहोस । बाटो खुलाईदिनुहोस । दाजुहरुले भन्न नसक्नु भएको , माग्न नभ्याउनु भएको वा छुटाउनु भएको बाकी केही कुरा छन् भने पनि सोधी सोधी पुरा गरिदिनुहोस ।
कठिन समयमा ठूलो कुरा बोल्नेभन्दा ठूलो निर्णय गर्ने साहस चाहिन्छ। इतिहासमा नेताहरु केवल चुनाव जितेर र पदमा बसेर महान् बनेका होइनन्; कठिन समयमा सही निर्णय गरेर महान् बनेका हुन्। तपाईं महान बन्ने बाटोमा हुनुहुन्छ । आज तपाईंले यो निर्णय गरेर नेपाली कांग्रेसको भावी इतिहासलाई एउटा नयाँ बाटो दिन सक्नुहुन्छ। संदेश दिन सक्नुहुन्छ । काङ्ग्रेस बिभाजन गर्न खोज्नेहरुलाई जबाफ दिन सक्नुहुन्छ । समयले सधै यो अवसर दिदैन । चेतनाको उच्च तहको भरपुर प्रयोग गरिदिनुहोस ।
राजनीतिमा सबै कुरा जित्नु पर्दैन । कहिलेकाहीँ केही कुरा छोडेर पनि इतिहास जित्नुपर्छ ।
भोलिका सन्ततिहरुले इतिहासमा यस्तो मानिस पनि जन्मिएको थियो र ? भनेर बिश्वास गर्न समेत कठिन हुने एउटा अद्भुत रहस्य बनिदिनुहोस । शुभकामना छ ।
दाई किशोर दत्त बराल कास्की मिति : २०८३ श्रावण २६ गते समय : बिहान ४ बजे , शुभ-मुहूर्त
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्