विदुरको हाटबजारबाट उत्साहित बेलकोटगढी, महादेवफाँटमा साप्ताहिक बजारको माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २७, बुधबार ०९:०९

विदुर । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले नुवाकोटको विदुर नगरपालिकामा सञ्चालनमा आएको साप्ताहिक हाटबजारले सदरमुकामवासीलाई ताजा तथा तुलनात्मक रूपमा सस्तो मूल्यमा तरकारी र फलफूल उपलब्ध गराउन थालेको छ । विदुर नगरपालिका–९ कोलनीमा शनिबार र वडा नं. ४ हावाघरमा आइतबार सञ्चालन हुने हाटबजारमा स्थानीय कृषकसँगै व्यापारीको समेत सक्रिय सहभागिता देखिन थालेको छ ।


केही महिनाअघिदेखि सञ्चालनमा आएको हाटबजारमा स्थानीय उत्पादन बिक्री गर्न आउने किसान र दैनिक उपभोग्य वस्तु खरिद गर्न आउने उपभोक्ताको चहलपहल बढ्दो छ । एउटै स्थानमा विभिन्न प्रकारका तरकारी, फलफूल तथा कृषि उपज उपलब्ध हुन थालेपछि उपभोक्तालाई सहज भएको छ भने किसानले पनि आफ्नो उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता केही हदसम्म घटेको छ ।
तर, पछिल्लो समय हाटबजारमा किसानभन्दा बिचौलिया र व्यापारीको उपस्थिति बढ्न थालेको गुनासोसमेत आउन थालेको छ । किसानले उत्पादन गरेको वस्तु किसानकै हातबाट उपभोक्तासम्म पुग्ने वातावरण बनाउन सके मात्रै हाटबजारको वास्तविक उद्देश्य पूरा हुने स्थानीयको भनाइ छ । त्यसैले विदुर नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको हाटबजारलाई थप व्यवस्थित, पारदर्शी र किसानमुखी बनाउन आवश्यक रहेको सुझाव आउन थालेको छ ।


विदुरमा हाटबजारको अभ्यास सफल हुँदै गएपछि यसको प्रभाव जिल्लाका अन्य स्थानीय तहमा पनि देखिन थालेको छ । विशेषगरी बेलकोटगढी नगरपालिका–७ को महादेवफाँटमा प्रत्येक शनिबार साप्ताहिक हाटबजार सञ्चालन गर्ने सम्भावनाबारे स्थानीयस्तरमा छलफल सुरु भएको छ ।


महादेवफाँटमा हाटबजार सञ्चालन हुन सके बेलकोटगढी नगरपालिका–५, ६ र ७ का बासिन्दासँगै विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकसमेत प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । स्थानीय किसानले आफ्ना उत्पादन बिक्री गर्ने भरपर्दो बजार पाउनेछन् भने उपभोक्ताले ताजा सागसब्जी, फलफूल, अन्न, दूध, माछा, मासु, खसी–बोका लगायत दैनिक उपभोग्य वस्तु एउटै स्थानबाट खरिद गर्न सक्नेछन् ।


बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिवप्रसाद दाहाल किसानले हाटबजार सञ्चालनमा चासो देखाए नगरपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै किसानलाई बजारको सुनिश्चितता दिन हाटबजार प्रभावकारी माध्यम बन्न सक्छ । स्थानीय समाजसेवी रामचन्द्र नेपाल पनि महादेवफाँट हाटबजार सञ्चालनका लागि उपयुक्त स्थान रहेको बताउनुहुन्छ । उहाँका अनुसार बजार सञ्चालनमा आए स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीय आर्थिक गतिविधि बढ्नेछ ।


हाटबजार ग्रामीण अर्थतन्त्रको पुरानो र प्रभावकारी बजार प्रणाली हो । सामान्यतया खुला चौर, खुला ठाउँ वा सडक आसपास सञ्चालन हुने हाटबजारले किसान, व्यापारी र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने काम गर्छ । यसले स्थानीय उत्पादनलाई स्थानीय बजारमै खपत गराउने, किसानको आम्दानी बढाउने, उपभोक्तालाई ताजा वस्तु उपलब्ध गराउने र स्थानीय व्यापारलाई चलायमान बनाउने भूमिका खेल्छ ।
महादेवफाँटमा साप्ताहिक हाटबजार सञ्चालन हुनु केवल किनबेच गर्ने स्थान स्थापना गर्नु मात्र नभई स्थानीय उत्पादन, स्थानीय व्यापार र स्थानीय अर्थतन्त्रलाई जोड्ने एउटा महत्वपूर्ण पहल बन्न सक्छ । त्यसका लागि किसानको प्रत्यक्ष सहभागिता, उचित मूल्य निर्धारण, बिचौलियाको नियन्त्रण, व्यवस्थित स्टल, सरसफाइ र स्थानीय तहको निरन्तर सहजीकरण आवश्यक हुनेछ ।


विदुरमा सुरु भएको हाटबजारको अनुभवलाई आधार बनाउँदै बेलकोटगढीले महादेवफाँटमा व्यवस्थित र किसानमुखी हाटबजारको अवधारणा अघि बढाउन सके यसले आसपासका बस्तीको आर्थिक गतिविधिलाई समेत नयाँ गति दिन सक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *