अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपा बेलकाेटगढीद्वारा शहीद भवन परिसर सरसफाइ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २७, बुधबार १५:५३



-किशाेर वली

बेलकोटगढी, नुवाकोट । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलकोटगढी नगर समितिको आयोजनामा बेलकोटगढी नगरपालिका–११ स्थित निर्माणाधीन शहीद भवन परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।


युवाहरूको सामाजिक उत्तरदायित्व, सक्रिय सहभागिता तथा सार्वजनिक सम्पत्तिको संरक्षणप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा रास्वपाका नेता–कार्यकर्ता तथा युवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शहीद भवन परिसरमा रहेका झारपात, फोहोर तथा अनावश्यक वस्तुहरू हटाउँदै सरसफाइ गरेका थिए।


रास्वपा बेलकोटगढी नगर सभापति कृष्णप्रसाद पन्थ ‘मनोहर’ ले युवा दिवसलाई औपचारिकतामा मात्र सीमित नगरी सामाजिक सेवा र जनमुखी गतिविधिसँग जोडेर मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले युवाहरू समाज परिवर्तनका महत्वपूर्ण संवाहक भएकाले उनीहरूको ऊर्जा, श्रम र सिर्जनशीलतालाई सकारात्मक तथा रचनात्मक कार्यमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।


त्यस्तै, नुवाकोटका रास्वपाका संस्थापक युवा नेता सागर तिवारी ले युवाहरू परिवर्तनका संवाहक मात्र नभई समाज निर्माणका जिम्मेवार साझेदारसमेत भएको बताउनुभयो। युवा दिवसका अवसरमा गरिएको सरसफाइ कार्यक्रमले युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति थप जागरूक बनाउनुका साथै सार्वजनिक संरचना तथा सम्पदाको संरक्षणमा ध्यानाकर्षण गराउने विश्वास उहाँले व्यक्त गर्नुभयो।


तिवारीले शहीद भवनजस्ता संरचना कुनै व्यक्ति वा संस्थासँग मात्र सम्बन्धित नभई समुदायको इतिहास, योगदान र भावनासँग जोडिएको हुने भएकाले यसको संरक्षण र विकासमा स्थानीय समुदाय तथा युवाहरूले निरन्तर भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। युवाहरूले परिवर्तनको अपेक्षा मात्र नगरी आफैँ अग्रसर भएर समाजका लागि सकारात्मक काम गर्नुपर्ने उहाँको भनाइ थियो।


निर्माणाधीन शहीद भवन परिसरमा गरिएको सरसफाइ अभियानले युवाहरूमा सामाजिक जिम्मेवारी, सामुदायिक भावना र सार्वजनिक सम्पत्तिप्रतिको अपनत्व विकास गर्न सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।


कार्यक्रम सफल बनाउन सहयोग गर्ने युवा, स्थानीयवासी, रास्वपाका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। युवा शक्ति, सामाजिक जिम्मेवारी र सकारात्मक परिवर्तनको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *