काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि करिब पाँच महिना विदेश बसेर बिहीबार स्वदेश फर्किएलगत्तै चुनदेवीस्थित संस्थापनइतर समूहले सञ्चालन गरेको सम्पर्क कार्यालय पुगेका छन्।
त्यहाँ भेला भएका कांग्रेस नेता तथा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, आफू र परिवारमाथि भएका अनुसन्धान तथा पक्राउको प्रयासबारे धारणा राखे।
देउवाले जेनजी आन्दोलनपछि आफू र पत्नी आरजु राणा देउवामाथि विभिन्न निकायबाट अनुसन्धान र मुद्दा चलाइएको उल्लेख गर्दै सर्वोच्च अदालतले पक्राउ नगर्न आदेश दिएको बताए। आफूहरूमाथि पटक–पटक सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गरिएको दाबी गर्दै उनले त्यसलाई ‘बदला’को भावनाले नहेर्ने बताए।
भदौ २४ गते आफू र पत्नीमाथि कुटपिट भएको तथा बूढानीलकण्ठस्थित निवासमा आगजनी भएको घटनाको प्रसंगसमेत देउवाले उल्लेख गरे। आगजनीपछि जलेका नोटका टुक्रासम्बन्धी विषय बाहिर आएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुचुल्का उठाएको घटनातर्फ पनि उनले संकेत गरे।
देउवाले आफूलाई राजनीतिक रूपमा कमजोर पार्ने प्रयास भए पनि त्यसबाट आफू नडराउने धारणा राखे। उनले नेपालमा जनता नै सबैभन्दा ठूलो शक्ति भएको र संविधान तथा अदालतप्रति आफूलाई विश्वास रहेको बताए।
गणतन्त्र स्थापनाको प्रसंग उल्लेख गर्दै देउवाले नेपालमा गणतन्त्र कुनै एक व्यक्तिको इच्छाले नभई संविधानसभाको पहिलो बैठकबाट आएको बताए। जनताले चाहेको निर्णय नै अन्ततः निर्णायक हुने उनको भनाइ थियो।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा देउवाका लागि नेपाली कांग्रेसको सभापतिको हैसियतमा छुट्टै कोठासमेत व्यवस्थापन गरिएको नेताहरूले बताएका छन्।
गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। स्वदेश फर्किएपछि देउवा संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा पुग्नुलाई कांग्रेसभित्रको पछिल्लो आन्तरिक राजनीतिक समीकरणका दृष्टिले समेत अर्थपूर्ण रूपमा हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्