–शुकदेव दाहाल
नेपाली राजनीतिमा अहिले प्रमुख राजनीतिक दलहरू एजेन्डाविहीनजस्तै देखिएका छन् । पुराना राजनीतिक दलप्रति नागरिक तहमा बढ्दो असन्तुष्टि, जेनजी आन्दोलनबाट उठेको अस्वीकारको भावना र त्यसपछिको निर्वाचनमा देखिएको जनमतले परम्परागत दलहरूलाई गम्भीर आत्मसमीक्षाको अवस्थामा पु¥याएको छ । जेनजी आन्दोलनले अस्वीकार गरेका राजनीतिक शक्तिलाई जनताले जेठ २१ गतेको निर्वाचनमार्फत समेत अस्वीकार गरेको सन्देश दिएका छन् ।
तर, नयाँ राजनीतिक शक्तिहरूप्रतिको आकर्षण पनि लामो समय टिक्न नसक्ने हो कि भन्ने आशंकाहरु सुरु भैसकेका छन् । गत भदौं २४ गते लखेटिएका नेताहरलाई अहिले नागरिकले नै स्वागत गर्दै देश बचाउँको नारा लगाउन थालिसकेका छन् । यसको कारण भनेको नयाँप्रति देखिएको धेरै ठुला अपेक्षा र उनीहरुको क्रियाकलाप नै हुन यसले नेपाली राजनीतिमा पुराना र नयाँ दुवै शक्तिप्रति नागरिकको अपेक्षा र असन्तुष्टिको नयाँ चरण सुरु भएको संकेत गरेको छ ।
यही राजनीतिक परिस्थितिबीच नेपाली कांग्रेसको इतरपक्षले राजधानीमा तीनदिने राष्ट्रिय सम्मेलन आयोजना ग¥यो । सम्मेलनमा समसामयिक राजनीतिक, सामाजिक र संगठनात्मक विषयमा व्यापक छलफल भए । तर, एउटा विषयले भने सम्मेलनको औपचारिक एजेन्डाभन्दा धेरै ठूलो राजनीतिक बहस सिर्जना गरिदिएको छ—सनातन हिन्दु धर्मको विषय ।
अझ रोचक पक्ष त के छ भने नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वयं प्रमुख अतिथि रहेको कार्यक्रममा हिन्दु धर्म र सनातन परम्पराका विषयले स्थान पाउनु हो । देउवाले सार्वजनिक रूपमै आफू हिन्दु भएको बताएका छन् ।
देउवाको ‘म हिन्दु हुँ’ भन्ने अभिव्यक्ति आफैंमा अस्वाभाविक वा नयाँ विषय होइन । उनको धार्मिक आस्था सार्वजनिक जीवनमा लामो समयदेखि नै प्रकट हुँदै आएको छ । तर, राजनीतिक सन्दर्भमा अहिले उनले दिएको अभिव्यक्तिलाई केवल व्यक्तिगत धार्मिक आस्थाका रूपमा मात्रै बुझ्नु पर्याप्त हुँदैन ।
देउवाले आफू हिन्दु संस्कारअनुसार हुर्किएको, ब्रतबन्धदेखि विवाहसम्म हिन्दु परम्पराअनुसार भएको र आफू पशुपति जाने तथा पूजा गर्ने गरेको बताएका छन्। साथै उनले नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्ने र अन्य धर्मप्रति पनि सम्मान रहेको स्पष्ट पारेका छन् । बुद्धप्रति आफ्नो सम्मान व्यक्त गर्दै उनले बौद्ध धर्मलाई संसारले स्वीकार गरेको र वैज्ञानिक धर्मसमेत भन्ने गरिएको उल्लेख गरेका छन् ।
यही अभिव्यक्तिको राजनीतिक अर्थ खोज्दा कांग्रेसभित्रको बदलिँदो मनोविज्ञान देखिन्छ । कांग्रेसका ठूलो संख्यामा नेता–कार्यकर्ता सनातन हिन्दु धर्म र हिन्दु राज्यको पक्षमा रहेको चर्चा लामो समयदेखि हुँदै आएको छ । तर, पार्टीले औपचारिक रूपमा यो विषयलाई राजनीतिक एजेन्डाका रूपमा अघि सार्न भने सकेको थिएन ।
अब परिस्थिति बदलिएको देखिन्छ । जनमत गुमाउँदै गएको कांग्रेसले आफ्नो परम्परागत सामाजिक आधार, सांस्कृतिक पहिचान र मतदातासँगको सम्बन्ध पुनः स्थापित गर्ने र वस्पी कोइरालाकोराष्ट्यि मेलमिलापको मुद्दालाई समेत जोडेर धार्मिक–सांस्कृतिक मुद्दालाई पनि बहसमा ल्याउन खोजेको हुन सक्छ । यसलाई कांग्रेसले गुमेको शाख र जनमत फर्काउने रणनीतिक प्रयासका रूपमा बुझ्नेहरू पनि छन् ।
यही कारण राष्ट्रिय प्रजातन्त्र पार्टी भने केही सशंकित देखिन्छ । हिन्दु राष्ट्रको मुद्दा लामो समयदेखि आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउँदै आएको राप्रपाले कांग्रेसले आफ्नो मुद्दालाई ‘हाइज्याक’ गर्न खोजेको महसुस गरेको हुन सक्छ । कांग्रेसले औपचारिक रूपमा सनातन हिन्दु धर्मको पक्षमा स्पष्ट राजनीतिक निर्णय गरेमा यसको प्रत्यक्ष प्रभाव राप्रपाको राजनीतिक आधारमा पर्न सक्छ ।
तर, यहाँ कांग्रेसभित्रै अर्को प्रश्न पनि छ । इतरपक्षको सम्मेलनबाट आएको धारणा नै सम्पूर्ण नेपाली कांग्रेसको आधिकारिक धारणा हो कि होइन ? यसबारे कांग्रेस संस्थापन पक्षको स्पष्ट र औपचारिक धारणा सार्वजनिक भइसकेको छैन । त्यसैले अहिले नै कांग्रेस हिन्दु राष्ट्रको पक्षमा औपचारिक रूपमा उभिइसकेको निष्कर्ष निकाल्नु हतार हुनेछ ।
अदालतबाट आउने निर्णय, कांग्रेसभित्रको आगामी राजनीतिक बहस र पार्टीको संस्थागत निर्णयले यो विषय कुन दिशामा अघि बढ्छ भन्ने निर्धारण गर्नेछ । तर एउटा कुरा भने स्पष्ट छ—सनातन हिन्दु धर्मको विषय अब नेपाली राजनीतिमा फेरि केन्द्रमा आएको छ ।
नेपालमा बहुसंख्यक नागरिक हिन्दु धर्मावलम्बी रहेको यथार्थलाई हेर्दा आफ्नो धर्म, संस्कृति र सनातन परम्पराको संरक्षणको मागलाई स्वाभाविक राजनीतिक बहसका रूपमा लिन सकिन्छ । तर त्यससँगै बौद्ध, किराँत, मुस्लिम, इसाईलगायत सबै धर्म र समुदायको सम्मान, धार्मिक स्वतन्त्रता तथा समान अधिकार सुनिश्चित गर्नु लोकतान्त्रिक राज्यको आधारभूत दायित्व हो ।
त्यसैले प्रश्न हिन्दु धर्मको संरक्षण गर्ने कि नगर्ने भन्ने मात्रै होइन, त्यसलाई राज्यको स्वरूप र राष्ट्रिय सहमतिसँग कसरी जोड्ने भन्ने हो । मुलुकका अन्य प्रमुख दल रास्वपा, एमाले, नेकपाको सहमतिकासाथ सनातन हिन्दु धर्मसम्बन्धी विषयलाई राजनीतिक एजेन्डा बनाउने हो भने त्यसले सार्थकता पाउन सक्छ । तर यसलाई भावनात्मक प्रतिस्पर्धा वा तत्कालीन चुनावी लाभका लागि मात्रै हो भने यसको सन्देश झन नकारात्मक बन्न सक्छ । तसर्थ यसलाई व्यापक राष्ट्रिय बहस र सहमतिबाट निर्धारण गरिनुपर्दछ भन्ने स्तम्भकारको स्पष्ट धारणा रहेको छ ।
कांग्रेसको पछिल्लो बहसले एउटा नयाँ राजनीतिक अध्यायको संकेत गरेको छ। अब हेर्नुपर्ने विषय कांग्रेसले यसलाई केवल सम्मेलनको अभिव्यक्तिमा सीमित राख्छ कि संस्थागत राजनीतिक एजेन्डाका रूपमा अघि बढाउँछ भन्ने हो । त्यो निर्णयले कांग्रेसको आगामी राजनीतिक यात्रा मात्रै होइन, नेपाली राजनीतिमा धर्म, संस्कृति र राज्यको सम्बन्धबारे हुने बहसको दिशासमेत निर्धारण गर्ने देखिएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्