सडक विस्तारले ढल्यो नुवाकोटको लोकतान्त्रिक इतिहासको साक्षी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३, बुधबार १०:५४


विदुर । नुवाकोट सदरमुकाम विदुरको पहिचानसँग जोडिएको ‘लोकतान्त्रिक चौतारा’ बुधबार ढाल्ने काम सुरु भएको छ ।गल्छी–त्रिशूली–रसुवागढी सडक विस्तारका क्रममा सडक सीमाभित्र परेको चौतारा ढालिएसँगै स्थानीयवासीले एउटा रुख मात्र नभई आफ्नो पुस्तासँग जोडिएको इतिहास गुमाएको अनुभूति गरेका छन्।


२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा यो चौतारा आन्दोलनकारीको प्रमुख जमघटस्थल थियो। सयौँ नागरिक यही चौतारामुनि भेला हुन्थे। आन्दोलनका कार्यक्रम यहीँबाट सुरु हुन्थे र यहीँ आएर टुंगिन्थे। जनआन्दोलन सफल भएपछि त्यसको स्मृतिस्वरूप यस चौतारालाई ‘लोकतान्त्रिक चौतारा’ नाम दिइएको थियो।


त्यसयता यो स्थान केवल राजनीतिक विरोध र आन्दोलनको केन्द्रमा सीमित रहेन। विभिन्न राजनीतिक दल, नागरिक समाज, संघसंस्था तथा सरकारी निकायले आयोजना गर्ने सभा, र्‍याली तथा सार्वजनिक कार्यक्रमको नियमित स्थलसमेत यही बन्यो। विदुरमा हुने सार्वजनिक गतिविधिको एउटा स्वाभाविक थलो बनेको लोकतान्त्रिक चौतारा विस्तारै नुवाकोटको परिचयसँगै जोडिन पुग्यो।


स्थानीय युवा तथा सामाजिक अभियन्ता मछिन्द्र आचार्यका लागि पनि यो चौतारा एउटा रुखभन्दा धेरै ठूलो थियो। उनका अनुसार चौतारा नुवाकोटको सामाजिक जीवन र इतिहासको हिस्सा बनिसकेको थियो।


“नुवाकोटमा हुने धेरैजसो संघसंस्थाका कार्यक्रम यहीँ हुन्थे। सर्वसाधारणको भेटघाटदेखि विदुरमा बिहान–बेलुकाको जमघटसम्म यही चौतारो केन्द्रमा थियो,” आचार्य भन्छन्, “यहाँ बसेर साथीभाइ भेटेपछि दिनभरको थकानसमेत मेटिएजस्तो हुन्थ्यो। अब त्यो सबै सम्झनामा सीमित भएको छ।”


आचार्यका अनुसार सडक विस्तारको योजना आजको मात्र विषय थिएन। वर्षौँअघि नै सडक फराकिलो बनाउने तयारीबारे जानकारी हुँदाहुँदै पनि ऐतिहासिक तथा धार्मिक महत्व बोकेका सम्पदा जोगाउने वैकल्पिक उपाय खोज्न स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायले पर्याप्त पहल गर्न सकेनन्।


“सडक विस्तार हुने कुरा पाँच–सात वर्षअघि नै थाहा थियो। त्यतिबेला नै विकल्प खोजेर सदरमुकामभित्रका धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहर जोगाउन पहल गर्नुपर्थ्यो,” उनी भन्छन्, “रुख काट्ने बेला पूजा गरेर आरा लिएर आएपछि विरोध गर्नुको अर्थ के रहन्छ ? त्यो त औपचारिकतामात्रै हुन्छ।”
उनका अनुसार सदरमुकाम आसपासका धेरै पुराना चौतारा र सार्वजनिक सम्पदा यसअघि नै मासिँदै गएका छन्। ऐतिहासिक सम्पदा संरक्षणमा समयमै ध्यान नदिँदा विदुरको मौलिकता र पुरानो स्वरूप क्रमशः हराउँदै गएको उनको गुनासो छ।


स्थानीयवासीका लागि भने लोकतान्त्रिक चौतारा एउटा सार्वजनिक स्थलभन्दा पनि सामूहिक सम्झनाको केन्द्र थियो। आन्दोलनका दिनदेखि दैनिक जीवनका सामान्य भेटघाटसम्मका असंख्य स्मृति यससँग जोडिएका छन्। त्यसैले चौतारा ढल्दा धेरैले आफ्नै घरको सदस्य गुमाएजस्तो पीडा महसुस गरेका छन्।


कतिपय स्थानीयले सडक विस्तार आवश्यक भए पनि ऐतिहासिक महत्व बोकेको चौतारालाई कुनै न कुनै रूपमा संरक्षण गर्नुपर्ने बताएका छन्। चौतारा रहेको स्थान जोगाउन नसकिए पनि त्यसको इतिहास, नाम र स्मृतिलाई सुरक्षित राख्ने गरी विकल्प खोज्नुपर्ने उनीहरूको माग छ।


नेपाल र चीन जोड्ने रणनीतिक सडकका रूपमा रहेको ४६ किमी गल्छी–त्रिशूली–रसुवागढी सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत सडकको दायाँ–बायाँ २५ मिटर क्षेत्र कायम गरिएको छ। सोही सीमाभित्र पर्ने संरचना तथा घरटहरा हटाउने काम अहिले पिपलटार–विदुरदेखि ढुंगेसम्म भइरहेको छ।


विकासका लागि सडक विस्तार अपरिहार्य भए पनि विकाससँगै इतिहास र पहिचान जोगाउने चुनौती भने झन् गम्भीर बनेको छ। लोकतान्त्रिक चौतारा ढलेसँगै विदुरको एउटा भौतिक संरचना हराएको छ, तर त्यससँग जोडिएको जनआन्दोलनको इतिहास, नागरिकको संघर्ष र पुस्तौँको स्मृति अब कसरी जोगाउने भन्ने प्रश्न पनि उभिएको छ।


चौतारा ढल्यो, सडक फराकिलो होला। तर त्यसको छायामा बसेर इतिहास बनाएका पुस्ताका लागि त्यो ठाउँ अब सडकको एउटा भाग मात्र हुनेछैन—स्मृतिमा बाँचेको लोकतान्त्रिक चौतारा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *