काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ। बाढी, पहिरो, भूक्षय तथा सडकमा हिलो जम्दा केही प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त स्थानमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र आवागमन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। यस्तै, नुवाकोटको टोखा–छहरे सडकमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा सडकमा हिलो थुप्रिएपछि मेची राजमार्ग अवरुद्ध भएको छ। त्यहाँबाट आवागमनका लागि वैकल्पिक मार्ग उपलब्ध रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ कोदारीमा पहिरो खस्नुका साथै लिपिङ क्षेत्रमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।
त्यसैगरी, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडक अवरुद्ध भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि बन्द भएको प्रहरीले जनाएको छ।
लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहित पहिरो खसेपछि घोराही–थवाङ–रुकुम सहिदमार्ग बन्द भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेशबिन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ भूक्षय तथा पहिरो गएपछि सिद्धार्थ राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीले वर्षाका कारण सडकमा थप जोखिम हुन सक्ने भन्दै यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायबाट जारी हुने सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्