नुवाकोट । बञ्चरेडाँडाका स्थानीयवासीले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर आएका गाडी एक घण्टा रोकेर आफ्ना माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिएका छन्।
वैज्ञानिक र व्यवस्थित प्रविधिबाट फोहोर व्यवस्थापन नगरिँदा गाउँभर दुर्गन्ध फैलिएको तथा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीय आन्दोलित भएका हुन्।
स्थानीयका अनुसार फोहोरबाट निस्कने लिच्चेड खोलामा मिसिने गरेको छ। यसका कारण वातावरण प्रदूषित हुनुका साथै स्थानीयमा विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको उनीहरूको गुनासो छ।
स्थानीयले फोहोर व्यवस्थापनका लागि भएका सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै १५ दिनभित्र माग सम्बोधन नभए फोहोर विसर्जनमा रोक लगाउने चेतावनी दिएका छन्।
सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलले विगतमा पटक–पटक भएका सहमति कार्यान्वयन नभएकाले स्थानीय पुनः आन्दोलनमा उत्रन बाध्य भएको बताए।
उनले फोहोर व्यवस्थापनसँगै स्थानीयका वातावरणीय, स्वास्थ्य तथा पूर्वाधारसम्बन्धी समस्या समाधान गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्