– शुकदेव दाहाल
नुवाकोट । रसुवा, नुवाकोट र धादिङका त्रिशूली नदी आसपासका बस्तीहरू विनाशकारी बाढीपछि गम्भीर संकटमा परेका छन्। बाढीले दर्जनौँ पुल तथा सडक संरचना बगाएपछि त्रिशूलीपारिका बस्तीहरू यातायात सञ्जालबाट अलगिएका छन् भने विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार तथा राहत व्यवस्थापनमा समेत कठिनाइ भएको छ।
बेत्रावतीदेखि चितवनसम्म त्रिशूली नदी आसपासका अधिकांश पुल बाढीले बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ। त्रिशूली बजारका दुवै पुल बगेपछि ढुंगेबाट त्रिशूली बजारतर्फ सहज रूपमा आवतजावत गर्न सकिने अवस्था छैन। त्रिशूलीदेखि देवीघाटसम्म रहेका पक्की तथा झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।
बेलकोटगढी नगरपालिका–५ का वडाध्यक्ष मदन भुजेलका अनुसार नुवाकोटको कोल्पुटार र धादिङ जोड्ने कोल्पु पुल बाढीले बगाएको छ। नुवाकोट र धादिङको कल्लेरी जोड्ने झोलुङ्गे पुलसमेत बगेपछि दुई जिल्लाबीचको आवतजावत तथा दैनिक मेलापातमा समेत समस्या उत्पन्न भएको छ।
बाढीले शिखराली, तारुका, केउरिनी, कोल्पुटार, गल्छी, बेल्खुलगायतका क्षेत्रमा रहेका पसल तथा व्यापारिक संरचनामा समेत ठूलो क्षति पुर्याएको स्थानीयले बताएका छन्।जिल्लाकै पुराना बजार क्षेत्र बेत्रावती, भैँसे, त्रिशूली, ढुंगे र देवीघाटमा रहेका घरहरू लेदो र हिलोले पुरिएका छन्।
बेत्रावती, त्रिशूली, भैँसे, ढुंगे र देवीघाट क्षेत्रमा मानिसहरू पुरिएको आशंका रहे पनि अहिलेसम्म यकिन तथ्यांक सार्वजनिक हुन सकेको छैन। बाढीपछि कतिपय परिवारका सदस्यसमेत सम्पर्कविहीन भएका छन्।
बेत्रावती हुँदै धादिङबाट गोसाइँकुण्ड जान लागेका यात्रुहरू सम्पर्कविहीन भएको बताइएको छ। उनीहरूका परिवारले खोजी तथा उद्धारका लागि अपिल गरेका छन्। त्यस्तै, आगीटारमा रहेका रिजाल परिवारका कतिपय सदस्यसमेत सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन्। त्रिशूली क्षेत्रमा कार्यरत केही कर्मचारीसमेत सम्पर्कमा नआएको आफन्तहरूले बताएका छन्।वेत्रावतीमा ५० भन्दा बढि नेपाल परिवारका सदस्य सम्पर्क विहिन भएको खबर छ। त्रिशूली बजारमा पनि २० भन्दा बढि अझै सम्पर्कमा नआएको त्रिशूली सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले जानकारी दिनुभयाेल। त्रिशूली बजारका व्यवसायी धनबहादुर श्रेष्ठका छाेरा सम्पर्क बिहन छन् ।
बाढीबाट जोगिएकाहरू सुरक्षित स्थानको खोजीमा विद्यालय तथा आफन्तका घरमा पुगेका छन्। स्थानीय जयन्त प्याकुरेलका अनुसार बाढीबाट जोगिएका केही परिवार गेर्खुको माथिल्लो भेगस्थित विद्यालय तथा आफन्तका घरमा आश्रय लिन पुगेका छन्।
बाढीले विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा वास्तविक क्षतिको विवरण संकलन गर्नसमेत कठिनाइ भएको छ।
यस्तो अवस्थामा विद्युत् तथा सञ्चार सेवा तत्काल पुनःस्थापना गर्नुका साथै त्रिशूलीपारिका नुवाकोटसहित रसुवा र धादिङका प्रभावित बस्तीलाई यातायात तथा उद्धार सञ्जालसँग यथाशीघ्र जोड्नुपर्ने आवश्यकता देखिएको छ।
बाढीले ठूलो मात्रामा खेतीयोग्य जमिनसमेत कटान गरेको छ। बेत्रावतीदेखि चितवनसम्म हजारौँ बिघा जमिन बगरमा परिणत भएको प्रारम्भिक विवरण छ। असारमा रोपिएको धानबालीसहित विभिन्न कृषि उत्पादन बाढीले बगाएर किसानलाई ठूलो क्षति पुगेको छ।
वैरेनी ब्यारेककाे केही क्षेत्रसमेत बाढीबाट प्रभावित भएको बताइएको छ। समग्र त्रिशूली करिडोरमै बाढीले सडक, पुल, घर, बजार, विद्युत्, सञ्चार र कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएपछि नुवाकोट, रसुवा र धादिङका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ।
सरकारले उद्धार तथा राहतका प्रयास जारी राखेको जनाएको छ। प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने, अस्थायी बासस्थान तथा राहत उपलब्ध गराउने काम भइरहेको छ। तर भौतिक संरचना र यातायात सञ्जालमा भएको व्यापक क्षतिका कारण प्रभावित सबै क्षेत्रमा तत्काल पुग्न चुनौती देखिएको छ।
विपद्को गम्भीरतालाई ध्यानमा राख्दै सरकारले विपद् संकट घोषणा गरेको अवस्थामा अब प्राथमिकताका साथ सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार, विद्युत्–सञ्चार सेवा पुनःस्थापना, अस्थायी आवागमनका लागि वैकल्पिक मार्ग निर्माण र प्रभावितलाई तत्काल राहत तथा सुरक्षित बासको व्यवस्था गर्नुपर्ने देखिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्