नुवाकोटमा वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति, साँझसम्म सबै क्षेत्रमा सेवा पुर्‍याउने तयारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ११, बिहीबार ११:३०

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले विद्युत् संरचनामा क्षति पुर्‍याएपछि अवरुद्ध बनेको नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति पुनः सञ्चालनमा ल्याएको छ ।


प्राधिकरणका अनुसार खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायत क्षेत्रमा सिन्धुपाल्चोकतर्फबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको हो ।


प्राधिकरणका प्रवक्ता राजन ढकालले चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने तथा बालाजु–त्रिशूली ६६ केभी लाइनलाई पनि ११ केभीमा चार्ज गर्ने काम भइरहेको जानकारी दिनुभयो । आवश्यक प्राविधिक काम पूरा गरी यी लाइन सञ्चालनमा ल्याएर साँझसम्म विद्युत् सेवा थप नियमित बनाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।


त्रिशूली क्षेत्रका केही स्थानमा भने धादिङको सल्यानटार सबस्टेसनबाट वैकल्पिक रूपमा विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । नियमित प्रसारण प्रणालीका संरचना बाढीबाट क्षतिग्रस्त भएपछि प्राधिकरणले सम्भव भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरेर सेवा सञ्चालन गरिरहेको जनाएको छ ।
विद्युत् सेवा छिटो पुनःस्थापना गर्न काठमाडौं तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक, उपकरण र आवश्यक स्रोतसाधनसहितका टोली नुवाकोट पठाइएको छ । टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण, मर्मत र वैकल्पिक आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।


यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा रोकिएका कर्मचारीको उद्धारसँगै विद्युत् सेवा तत्काल पुनःस्थापना गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।


टोलीमा प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणालगायत अधिकारी सहभागी छन् ।


प्राधिकरणले बाढीबाट क्षतिग्रस्त संरचनाको अवस्था निरन्तर मूल्याङ्कन गर्दै वैकल्पिक प्रणालीबाट आपूर्ति विस्तार गर्ने र संरचना मर्मत गरी नियमित विद्युत् सेवा पूर्ण रूपमा पुनःस्थापना गर्ने काम अघि बढाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *