काठमाडौं । चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाका आधारमा भोटेकोशी नदीमा पुनः बाढीको सम्भावित जोखिम देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले बिहीबार भदौ ११ गते दिउँसो ४ः४६ बजे जारी गरेको विशेष सूचनाअनुसार, चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त भू–उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषणमा हिजो भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ।
उक्त ताल निरन्तर बढिरहेको र फुट्ने जोखिमसमेत रहेको सूचनामा उल्लेख छ। ताल फुटेमा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राखी विशेष सावधानी अपनाउन भनिएको हो।
महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धारकर्ता र सर्वसाधारणलाई निरन्तर सतर्क अवस्थामा रहनसमेत अनुरोध गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्