काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै विपद्मा परेका नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार र घाइतेको उपचारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
प्रधानमन्त्री शाह बिहीबार नुवाकोट आएर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौं फर्किएका हुन्। उनले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका टोलीसँग प्रत्यक्ष जानकारी लिएको बताएका छन्।
उनका अनुसार अवस्था अझै चुनौतीपूर्ण रहे पनि राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको छ। खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रधानमन्त्री शाहले हवाई तथा स्थलमार्गबाट उद्धार जारी रहेको र बिहीबार मात्रै ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको जानकारी दिएका छन्। थप हेलिकप्टर तयारी अवस्थामा राखिएको तथा निजी हेलिकप्टरलाई समेत सरकारी समन्वयमा उद्धार र राहतका लागि परिचालन गरिएको उनले बताए।
रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। करिब ३ हजार ५०० जनाका लागि विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ छ।
तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ। खाद्यान्न तथा गैरखाद्य सामग्रीसमेत प्रभावित क्षेत्रमा पठाइएको छ। नेपाल रेडक्रससहित विभिन्न स्वयंसेवी संस्थाहरू पनि उद्धार तथा राहतमा परिचालित छन्।
स्वास्थ्यतर्फ वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ। प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
त्यस्तै, बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी, विद्युत् र दूरसञ्चार सेवा तत्काल पुनः सञ्चालन गर्न सम्बन्धित निकायलाई परिचालन गरिएको छ। नेपाल टेलिकम र एनसेलका कम्तीमा ७० वटा टावर/साइट बन्द भएकाले प्राविधिक टोली, जेनेरेटर र ब्याट्री प्रभावित क्षेत्रमा पठाएर सञ्चार सेवा पुनःस्थापनाको काम भइरहेको छ।
प्रधानमन्त्री शाहले भोटेकोशी र त्रिशूली नदीको बहाव तथा सम्भावित पहिरोको जोखिम निरन्तर निगरानी भइरहेको भन्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
उनले विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको जानकारी दिँदै उद्धार तथा राहतका लागि आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘हामी अहिले पनि काममै छौँ। यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ। उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्,’ प्रधानमन्त्री शाहले भनेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्