धादिङ । गोसाइँकुण्ड यात्रामा निस्किएको लम्साल परिवारसहितको टोली अझै सम्पर्कविहीन रहेको छ। सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेका अनुसार परिवारका आफन्त तथा विभिन्न व्यक्तिहरूले निरन्तर सम्पर्कको प्रयास गरे पनि शनिबार बिहान ७ः४० बजेसम्म उनीहरूसँग कुनै सम्पर्क हुन सकेको छैन।
लम्साल परिवार र खनाल परिवारका तीर्थयात्री सवार बसका चालक छविलाल श्रेष्ठसमेत सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरू सवार बस नम्बर १२५० रहेको जनाइएको छ।
अध्यक्ष घलेका अनुसार चालकसँग प्रत्यक्ष रूपमा नभई उनका ज्वाइँ नाताका ‘नारन’ नामका व्यक्तिमार्फत अन्तिमपटक सम्पर्क भएको थियो। बाढी आएको क्षेत्रबाट बिहान करिब ९ः१५ बजे चालकसँग कुरा भएको र उनले ‘गाडी बाढीले बगाएको तथा आफूहरू एउटा घरमा बसेर सुरक्षित रहेको’ जानकारी दिएको नारनमार्फत आफूले बुझेको अध्यक्ष घलेले बताएका छन्। त्यसपछि भने चालकसहित यात्रुहरू सम्पर्कविहीन भएको उनको भनाइ छ।
यसैबीच, केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफ्नो तस्बिरसहित लम्साल परिवारको अवस्थाबारे आफूले पुष्टि गरेको भन्दै विभिन्न विवरण सार्वजनिक गरिएकोप्रति अध्यक्ष घलेले आपत्ति जनाएका छन्। उनले ती विवरणहरू गलत र अपुष्ट रहेको स्पष्ट पारेका छन्।
अध्यक्ष घलेले विपत्तिको यस्तो दुःखद् घडीमा प्रमाण र आधिकारिक जानकारीबिना गलत समाचार तथा सूचना सम्प्रेषण नगर्न सबैलाई आग्रह गरेका छन्।
यसअघि रसुवा क्षेत्रमा बाढीपहिरोका कारण प्रभावित भएका अधिकांश नागरिकको उद्धार गरी सूर्यगढी गाउँपालिकाको भवनमा राखिएको जनाइएको छ। तर धादिङबाट गोसाइँकुण्ड यात्रामा निस्किएका लम्साल परिवारसहितका तीर्थयात्रीको भने अहिलेसम्म यकिन अवस्था पत्ता लाग्न नसकेको अध्यक्ष घलेले जानकारी दिएका छन् हरूको खोजी तथा अवस्थाबारे थप जानकारी प्राप्त गर्ने प्रयास भइरहेको बताइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्