नुवाकोटदर रसुवाको माथिल्लो क्षेत्रमा मुख्यमन्त्री थापाले पठाए राहत सामग्री

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १४, आईतवार ०६:५७


विदुर ।। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नुवाकोटको माथिल्लो क्षेत्रसहित रसुवाका बाढीपहिरो प्रभावित नागरिकका लागि तीन ट्रक खाद्यान्नसहितको राहत सामग्री पठाएका छन्।


भदौ १० गते नुवाकोट तथा भदौ ११ र १२ गते रसुवाको उत्तरगया र धुन्चे क्षेत्रको स्थलगत अवलोकन गरी भक्तपुर फर्किएलगत्तै मुख्यमन्त्री थापाले राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पठाएका हुन्।


मुख्यमन्त्री थापाले नुवाकोटको माथिल्लो क्षेत्र हुँदै रसुवासम्मका विपद्पीडित नागरिकलाई लक्षित गरी अत्यावश्यक खाद्यान्न, लत्ताकपडालगायतका राहत सामग्री स्थलमार्गबाट पठाइएको बताए। काठमाडौँबाट पठाइएका राहत सामग्री विदुरमा मात्रै थुप्रिएको अवस्थालाई ध्यानमा राख्दै माथिल्लो नुवाकोट र रसुवाका प्रभावित बस्तीमा सिधै राहत पुर्‍याउने उद्देश्यले ट्रक तथा टिपरमार्फत सामग्री पठाइएको उनको भनाइ छ।


बाढीपहिरोका कारण सडक तथा यातायात अवरुद्ध भएपछि प्रभावित नागरिकसम्म राहत पुर्‍याउन समस्या भइरहेको अवस्थामा प्रदेश सरकारको पहलमा छहरे, चौघोडा, बाहुनबेँसी, लच्याङ, सरमथली, पारिखर्क, पाँच्याङ पुल, भोर्ले, जेरोकिलो र बेत्रावती हुँदै पासाङल्हामु मार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको मुख्यमन्त्री थापाले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारले रसुवामा बाढीपहिरोका कारण अलपत्र परेका पर्यटकलाई समेत विभिन्न यातायातका साधनमार्फत निःशुल्क रूपमा काठमाडौँ ल्याउने काम गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *