त्रिशूलीको किनारमा उभिएर… मैले देखेको त्यो कहालीलाग्दो नुवाकोट….

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १४, आईतवार १७:१०

मार्मिक पौडेल

मिति २०८३/०५/१० गते भोटेकोशीमा आएको बाढीले मेरो आफ्नो गृहजिल्ला नुवाकोटसहित आसपासका क्षेत्रमा( रसुवा, धादिङ,चितवन) पुर्‍याएको क्षति शब्दमा वर्णन गर्न सकिने खालको छैन। इतिहासमा कहिल्यै नदेखिएको, सपनामा समेत नसोचेको त्यो विनाश कुनै प्राकृतिक विपत्ति मात्र नभई एक प्रकारको प्रलय नै थियो।


त्यो दिनदेखि मनभित्र अनेक पीडा, बेचैनी र छटपटी थियो। तर कामको व्यस्तताका कारण तत्कालै प्रभावित क्षेत्र पुग्न सकिएन। हिजो मात्र समय मिल्यो। मन भारी बनाएर हामी त्यसतर्फ लाग्यौँ।
ढुङ्गेसम्म पुगियो। त्यहाँको दृश्य ले वरिपरि कालो, रिंगटा लागेको जस्तो भएर थचक्क बसियो टाउको पुरै घुमायो ।बिदुरबाट सिमुटार हुँदै गेर्खुटारसम्म कच्ची बाटोबाट पुग्यौँ। माथिबाट त्रिशूली बजार, पुरानो बजार र ढुङ्गेतर्फ हेर्दा देखिएको दृश्यले मन नै थामिएन।
आँखाभरि आँसु भरिए।


मन भक्कनियर आयो।
कति सुन्दर ती ठाउँहरु आज चिनिनै नसकिने भएका छन्।
इतिहास बोकेको झोलुङ्गे पुल, केही वर्षअघि मात्र सम्पन्न भएको पक्की पुल, चालू रहेको त्रिशूली जलविद्युत् आयोजना, पुरानो बजार क्षेत्र, त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालय, राम मन्दिर—कुन कहाँ थियो भनेर छुट्याउन समेत मुस्किल भयो। विद्यालयको दुईतले भवनसम्म बालुवा र लेदोले पुरिएको छ। कैयौँ व्यापारिक भवनहरू जरैदेखि उखेलिएका छन्। बजार क्षेत्र पूरै तहसनहस भएको छ। खोला कुन रुपमा बगेको छ त्यो छुट्याउन सकिएन । पहिले सडकबाट तल हेर्दा मात्र त्रिशूली खोला देखिन्थ्यो, आज त्यही खोला मानव बस्तीमाथिबाट बगिरहेको जस्तो देखिन्छ। इतिहास बोकेको त्रिशूली बजार आज यति अत्त्याउने अवस्थामा पुगेको छ कि केही क्षण त्यहाँ उभिँदा पनि मनले प्रश्न गर्छ—
“के यहाँ फेरि मानव बस्ती बस्न सक्ला?”


हामी बिदुर हुँदै बेत्रावतीसम्म पुग्ने योजनामा थियौँ। तर बाटोको अवस्था र त्यहाँ देखिएको विनाशका कारण गेर्खुटारसम्म मात्र पुग्न सक्यौँ।
ठूला–ठूला पहाड चिरेर खोलाले बाटो बनाएको छ। दायाँ–बायाँ अकल्पनीय क्षति पुर्‍याएको छ। सयौँ बिघा खेतीयोग्य जमिन बालुवा र गेगरले पुरिएको छ। खेतबारीमा काम गरिरहेका कति मानिसहरू बाढी सङै बेपत्त भए, कति परिवारले आफ्ना आफन्त गुमाए, कति परिवार को वंशा टुङिय यसको यकिन आकलन गर्नसमेत कठिन छ।


करोडौँको लगानीमा सञ्चालन भएका मत्स्यपालन, विभिन्न जलविद्युत परियोजना, ब्लक कारखाना, तारजाली उद्योग, ढुङ्गा–गिट्टी उद्योग, खाध्य उध्योग तथा अन्य निजी परियोजनाहरूको अवस्था हेर्दा मन झन् भारी भयो।
रसुवा जोड्ने सडक गेर्खुबाटै टुटेको छ। करिब ७–८ किलोमिटर कालोपत्रे सडकसमेत कतै भिर बनेको छ, कतै खोलाले बगाएको छ। कयौं पुल बगएको छ।


नेपाल–चीन सम्बन्धसँग जोडिएको गौरवपूर्ण इतिहास बोकेको बेत्रावती, उत्तरगया, आज मरुभूमिजस्तो देखिन्छ। नुवाकोट र रसुवाको सीमाना, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको त्यो पवित्र भूमि आज यस्तो अवस्थामा पुगेको छ कि कल्पना गर्न पनि गाह्रो हुन्छ। बेत्रवोती को बस्ती पुरै पखालिएको छ। सयौं परिवार घरबार्बिहिन भएका छन, पारिवारिक बिछोड भएका छन्, खेती योग्य लह लह परेका फाट हरु अहिले मरभुमि भएका छन् ।
बट्टारदेखि देवीघाटसम्म…
डर अझै बाँकी छ
करिब २ बजेतिर बट्टारमा खाना खायौँ। स्थानीयसँग बियोग,पिडा का कुराकानी गर्‍यौँ। त्यसपछि पुरानो बजार हुँदै देवीघाटतर्फ लाग्यौँ।
बट्टार, त्रिशूली, बिदुर र ढुङ्गेभन्दा केही उचाइमा भए पनि, सुरक्षीत रहेता पनि मानिसहरूको मनमा अझै ठूलो डर र त्रास रहेछ कि कुनै दिन त्रिशुली को असर आउला कि भनेर । यहाँका मानिस चैनसँग सुत्न सकेका छैनन्।
सामाजिक सञ्जालमा फैलिने अपुष्ट र भ्रामक सूचनाका कारण कतिपय मानिसहरू राति–राति भागेर माथिल्लो नुवाकोट, पिपलटारतिर, बेल्कोट भाग्न बाध्य भइरहेका रहेछन्।

देवीघाट जाने क्रममा बट्टार इनारपाटी तल भर्खरै सञ्चालनमा आएको क्षेत्रीय कारागारको तल्लो भागसमेत डुबानमा परेको देखियो। बुनिबेँसीमा सौर्य प्रविधिबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको परियोजनाको तल्लो भाग पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको रहेछ।
त्यसपछि हामी चन्द्रज्योति स्कुल पुग्यौँ, जहाँ देवीघाट क्षेत्रका प्रभावित मानिसहरूलाई अस्थायी होल्डिङ सेन्टरमा राखिएको रहेछ।
त्यहाँको दृश्यले मन चिरियो। मानिसहरूको रुवाबासी थियो, चित्कार थियो, पीडा थियो।
कसैको घर छैन, कसैका आफ्न्त छैनन, कति घरबार बिहिन भए, कसैको खेत छैन, कसैलाई आफ्ना आफन्तको खबर छैन। विभिन्न राहत सामग्री बाडिरहेको देखेम जहाँ सुरक्षाकर्मी, स्थानिय जनप्रतिनिधि हरु प्रसस्त खटिएका थिए ।


देवीघाट… जहाँ इतिहास पनि रोइरहेको छ,
जसको नाम सुन्नासाथ हरेक मानिस को मनमा नुवाकोटको इतिहास, धर्म र संस्कृतिको एउटा विशाल चित्र आँखाअगाडि आउँछ।
राजा पृथ्वीनारायण शाहको समाधिस्थल, जलपादेवी मन्दिर, तादी र त्रिशूलीको संगमस्थल, मृत्युपश्चात् सद्गति गर्ने पवित्र भूमि, नुवाकोट–काठमाडौं–धादिङ-रसुवा जोड्ने महत्वपूर्ण नाका। तर आज त्यही देवीघाटको अवस्था हेर्दा निर्दयी मानिसको मनसमेत नरोई रहन सक्दैन।


त्रिशूली किनारमा रहेका ठूला–ठूला भवन र संरचनाहरू जरैदेखि उखेलिएका छन्। झोलुङ्गे पुलको नामोनिशान छैन। तादीतर्फको पक्की पुलको समेत अवशेष भेट्न मुस्किल छ। कतिपय घरका चार तलासम्म बाढी पसेको छ। घरका छतमा ठूला–ठूला रुखहरू आएर अड्किएका छन्।


म आफैँ पनि २०६२/६३ सालतिर एसएलसीको तयारी कक्षा लिन करिब तीन महिना बसेको यही पवित्र ठाउँलाई आज खण्डहर बनेको देख्दा मन भारी भएर आयो। त्यहाको हरेक ठाउँ धार्मिक रुपमा मह्त्तो बोकेको छ। राजा पृथ्वीनारायण शाह को सालिक भन्दा तल पुरै भाग डुबान मा परेको छ। मानिसहरू आफ्ना बाँकी रहेका घरभित्र पसेर लुगा–फाटो र महत्वपूर्ण कागजात निकालिरहेका थिए।


उनीहरूको अनुहारमा रहेको पीडा हर्नु बाहेक अरु केही गर्नी सकिने अबस्था थियन जुन पिडा शब्दमा व्यक्त गर्न सकिँदैन।
जालपादेवी मन्दिर कहाँ थियो भनेर अनुमान लगाउनसमेत मुस्किल भयो। नुवाकोटको पहिलो वृद्धाश्रमका रूपमा चिनिएको भवनको पहिलो तल लेदोले भरिएको छ।मानिस हरुका भित्रि भित्रि घरमा समेत लेदो पुगेको छ। बगाएर लेराएका मृत जनावर हरुको लास गनाएर नराम्रो गन्ध फैलिन सुरु भएको छ।


देवीघाटको पारिपट्टि पनि खेतीयोग्य जमिन, घर, कलकारखाना र उद्योगहरू पूर्ण रूपमा क्षतविक्षत भएका छन्।
त्रिशूली खोला पहिलेभन्दा निकै माथि आएको देखिन्छ। आज नदी किनारमा रहेका बस्तीहरूबाट बगिरहेको स्पस्ट देखिन्छ—
खोला अब पहिले बगेको ठाउँमा मात्र सीमित छैन।
आउँदा वर्षायाममा यो खोला कुन तहसम्म र कुन स्वरूपमा बग्ला भन्ने कुरा अहिले सबैका लागि ठूलो चिन्ताको विषय बनेको छ।
कतिपय स्थानमा ८–१० फिटसम्म बालुवा र लेदो थुप्रिएको छ। यति ठूलो मात्रामा जमेको बालुवा हटाएर फेरि त्यहाँ बस्ती बसाउन सम्भव होला कि नहोला भन्ने प्रश्नसमेत उठेको छ।
यो बेला दोष खोज्ने होइन, घाउमा मल्हम लगाउने बेला हो
प्राकृतिक विपत्तिमा पहिलो प्राथमिकता भनेकै मानिसको ज्यान बचाउनु हो।
उद्धार, राहत, घाइतेहरूको उपचार र सुरक्षित स्थानमा स्थानान्तरण गर्नु राज्यको पहिलो दायित्व हो। सरकारले आफ्नो स्रोत, साधन र दक्षताले भ्याएसम्म काम गरिरहेको मैले देखेको छु। यस विपत्तिमा देशभित्र र बाहिरबाट सहयोग गर्ने सम्पूर्ण दाता, संघ–संस्था, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय युवा तथा उद्धारमा खटिनुभएका सबैप्रति कोटि–कोटि नमन।

यो बेला राजनीतिकरण गर्ने, एक–अर्कामाथि आरोप–प्रत्यारोप गर्ने वा सरकारको कामप्रति मात्र कटाक्ष गर्ने समय होइन।
यो बेला सबै मिलेर घाउमा मल्हम लगाउने बेला हो। सरकार एक्लैले यति ठूलो विपत्तिको सामना गर्न सक्दैन। राज्यको जिम्मेवारी आफ्नो ठाउँमा छ, तर नागरिकको पनि जिम्मेवारी छ। हामी सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ। कसैले श्रम दिन सक्छ, कसैले आर्थिक सहयोग, कसैले राहत सामग्री, कसैले आफ्नो सीप र समय जुन कुरा सबैले आफ्नो आफ्नो तबर बाट गरिरहनु भएको छ। हामिले गरेको सानो सहयोग पनि अहिले कसैका लागि जीवनको ठूलो सहारा बन्न सक्छ। क्षतिको आकलन गर्नसमेत कठिन छ कति क्ष्यती भयो भनेर। नुवाकोट, रसुवा र धादिङको तल्लो क्षेत्रमा भएको क्षति कति हो भनेर अहिले नै अनुमान गर्न कठिन छ। कति मानिस हराएका छन भनेर तर
कहाँबाट काम सुरु गर्ने?
कसरी सुरु गर्ने?
कति समय लाग्ने?
कति स्रोत चाहिने?
कस्ता काम गर्ने
यी सबै प्रश्नहरू हाम्रा अगाडि पहाड बनेर उभिएका छन्।
तर हामी निराश भएर बस्न सक्दैनौँ।
हामीले उठ्नैपर्छ।
फेरि बनाउनैपर्छ।

फेरि बसाउनैपर्छ।
आज त्रिशूलीको किनारमा बालुवा र लेदो मात्र देखिए पनि भोलि यही भूमिमा फेरि जीवन फर्काउनुपर्छ।
आज खण्डहर बनेका बजारमा फेरि व्यापार चल्नुपर्छ।
आज सुनसान बनेका विद्यालयमा फेरि बालबालिकाको हाँसो गुञ्जिनुपर्छ।


आज उजाड बनेका खेतमा फेरि हरियाली फर्किनुपर्छ।
नुवाकोट र रसुवाका जनतामाथि परेको यो सामान्य विपत्ति होइन। यो एउटा पुस्ताले लामो समयसम्म बिर्सन नसक्ने पीडा हो।
यस कठिन घडीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सहयोग गर्ने सम्पूर्ण दाता, संघ–संस्था, व्यक्ति, स्थानिय सरकार, कुटनैतिक नियोग तथा शुभेच्छुकहरूप्रति नुवाकोट–रसुवावासी नतमस्तक छौँ। यहाँहरूले लगाउनुभएको यो गुन हामी जीवनभर सम्झिरहनेछौँ।
अब हाम्रो एउटै लक्ष्य हुनुपर्छ— “विनाशबाट विकासतर्फ, पीडाबाट पुनर्जन्मतर्फ र निराशाबाट आशातर्फ नुवाकोट, रसुवा र धादिङलाई अघि बढाउने।”

अन्त्यमा,
यस विपत्तिमा अकालमै ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। सम्पर्कविहीन तथा हराइरहनुभएका सबैजना सकुशल छिट्टै परिवारको सम्पर्कमा आउनुहोस् भनी भगवान सङ मेरो कामना । उद्धार, राहत र उपचारमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय युवा तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक सम्मान र नमन। त्रिशूलीले धेरै कुरा बगाएर लग्यो, तर हाम्रो साहस, एकता र आशा बगाएर लैजान सक्दैन।
हामी फेरि उठ्नेछौँ। हामी फेरि बनाउनेछौँ। हामी फेरि नुवाकोटलाई मुस्कुराएको देख्नेछौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *