भोटेकोशी–त्रिशूली बाढीपीडित विद्यार्थी र शिक्षकलाई प्याब्सन नुवाकोटद्वारा राहत प्याकेज घाेषणा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १७, बुधबार ०८:३०

नुवाकोट । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विद्यार्थी, शिक्षक तथा निजी विद्यालयका कर्मचारीलाई सहयोग गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।


प्याब्सन नुवाकोटको आज बसेको पूर्ण बैठकले बाढीका कारण आमा–बुबा दुवै गुमाएर अभिभावकविहीन भएका विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको छ। त्यस्तै, बाढीबाट घरबारविहीन भएका विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक तथा स्टेसनरी सामग्री निःशुल्क उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।


बैठकले बाढीका कारण घरबारविहीन भएका निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई उनीहरूको आवश्यकता र अवस्थाका आधारमा तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो।
त्यसैगरी, बाढीबाट पूर्णरूपमा क्षति भएका सदस्य विद्यालयहरूको पुनःस्थापना तथा सञ्चालनमा आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ।


बाढीका कारण बेपत्ता भएका विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय सञ्चालकहरूको खोजी कार्यलाई प्राथमिकतामा राख्दै खोजी तथा उद्धारको अवस्था हेरेर आगामी बैठकबाट थप ठोस निर्णय गर्ने प्याब्सनले जनाएको छ।


बाढीबाट नुवाकोटका त्रिशूली सामुदायिक बोर्डिङ स्कुल, त्रिशूली र उत्तरगया पब्लिक इङ्गलिस स्कुल, बेत्रावतीका भौतिक पूर्वाधार पूर्णरूपमा क्षति भएका छन्। विद्यालयको भौतिक संरचना पुनःनिर्माण तथा पुनःस्थापनामा समेत आवश्यक सहयोग गर्ने प्याब्सनले जनाएको छ।


अध्यक्ष अधिकारीका अनुसार विपद्का कारण शिक्षा क्षेत्रमा परेको क्षति न्यूनीकरण गर्दै प्रभावित विद्यार्थी र विद्यालय परिवारलाई पुनःसामान्य अवस्थामा फर्काउन प्याब्सनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछ।यसअघि विदुरकाे गुडविल एकेडेमीले बाढी प्रभावित विद्यार्थीलाइ पुर्ण छात्रवृत्ति दिने घाेषणा गरिसकेको छ ।नुवाकोटमा आठ विद्यालय क्षतिग्रस्त छन् भने ३ सय विद्यार्थी हराइरहेकाे तथ्यांक सरकारले सार्वजनिक गरेकाे छ ।

यस्तै प्याब्सन आवद्व संस्थाहरुले प्रधानमन्त्री राहत काेषमा १० कराेड जम्मा गर्ने तयारी गरिरहेकाे यसअघि नै बताएको छ भने नुवाकोट आएर ३ लाख राहत प्रदान गरेकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *