भोटेकोशी – त्रिशूली बाढी विपत्तिपछिको मनोसामाजिक प्रभाव र हाम्रो जिम्मेवारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २६, शुक्रबार १०:०२

सिताराम ढकाल

नेपालले फेरि एउटा ठूलो प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। भोटेकोशी नदीबाट सुरुभएको भीषण बाढीले रसुवाको तटीय क्षेत्र हुँदै नुवाकोट र धादिङको त्रिशूली नदी तटीय क्षेत्रसम्म गम्भीर प्रभाव पारेको छ।बाढिबाट भु(कटान, डुबान, पहिरो, सडक तथा पुलमा भएको क्षति, जलविद्युत् आयोजनामा परेको असर, घरबस्ती तथा व्यापारिक क्षेत्रमा भएको विनाश र आफ्ना आफन्त तथा सम्पत्ति गुमाउनुपर्दाको पिडा र अब के गर्नेू भन्ने अनिश्चियतताको त्रासले ठूलो जनसमुदायलाई प्रभावित बनाएको छ।

प्राकृतिक विपत्ति मानिसको नियन्त्रणभन्दा बाहिरको घटना हो।बाढी आउनुअघि त्यसको सम्भावित जोखिमबारे पूर्वानुमान र चेतावनी दिन सकिए पनि विपत्तिको वास्तविक रूप, त्यसको तीव्रता र त्यसले गर्ने क्षतिको पूर्ण नियन्त्रण सम्भव हुँदैन।त्यसैले बाढीले भौतिक संरचना मात्र बगाउँदैनस यसले मानिसको सुरक्षाको अनुभूति, भविष्यप्रतिको विश्वास, पारिवारिक स्थिरता र सामाजिक सम्बन्धलाई समेत तहसनहस बनाइदिन सक्छ।

यस्ता विपत्तिको भौतिक क्षति हामीले आँखाले देख्न सक्छौं, बगेका घर र गाडी, भत्किएका सडक, पुरिएका बस्ती, क्षतिग्रस्त पुल र अन्य भौतिक संरचना। तर यसको अर्को अदृश्य क्षति पनि हुन्छ, त्यो हो मनोसामाजिक क्षति। विपत्तिबाट प्रभावित व्यक्तिको मनमा ‘अब के हुन्छरु’ भन्ने अनिश्चितता, आफ्नो घर र सम्पत्तिको चिन्ता, परिवारका सदस्यको सुरक्षाबारे डर, आफन्त गुमाएको शोक तथा भविष्यप्रतिको असुरक्षा अनि सामाजिक संरचना बिहिनताको त्रास लामो समयसम्म रहन सक्छ।


विपत्तिपछि मानिसमा देखिने मनोवैज्ञानिक प्रतिक्रिया फरक– फरक हुन सक्छन्। कसैलाई घटना वास्तविक नै होइन जस्तो लाग्न सक्छ।कसैमा अत्यधिक डर, चिन्ता, आत्तिने, निरन्तर तनावमा रहने वा सानो आवाजले पनि झस्किने अवस्था देखिन सक्छ।निद्रा नलाग्ने, भोकमा परिवर्तन आउने, शरीर कमजोर महसुस हुने, टाउको दुख्ने रिंगटा लाग्ने जस्ता शारीरिक लक्षण पनि देखा पर्न सक्छन्। कतिपय व्यक्ति अत्यधिक रिसाउने, राज्य संयन्त्र सँग झर्किने, एक्लै बस्न खोज्ने वा सामाजिक सम्पर्कबाट टाढिने हुन सक्छन्।

त्यसैगरी, आफ्नो घर, व्यवसाय वा जीविकोपार्जनको आधार गुमाएका व्यक्तिमा निराशा र असहायपन अझ गहिरो हुन सक्छ। मैले अब कसरी जीवन सुरु गर्नेरुु भन्ने प्रश्नले उनीहरूको मानसिक स्वास्थ्यमा ठूलो दबाब सिर्जना गर्न सक्छ। अझ परिवार,आफन्त वा घरवार गुमाएका व्यक्तिमा भने शोकको प्रक्रिया झनै जटिल हुन सक्छ। यस्तो अवस्थामा बलियो बन, अब बिर्सिदेऊ वा सबै भगवानको इच्छा होू भनेर भावनालाई दबाउन खोज्नुको सट्टा उनीहरूको पीडा सुन्ने र स्वीकार गर्ने वातावरण आवश्यक हुन्छ।

बाढीको प्रभाव व्यक्ति र परिवारमा मात्र सीमित हुँदैन। यसले समाजको सामाजिक संरचना र सम्बन्धलाई पनि प्रभावित गर्छ। विपत्तिको सुरुवाती अवस्थामा मानिसहरूबीच सहयोग, सहानुभूति र सामूहिकताको भावना निकै बलियो हुन सक्छ। अपरिचित मानिस पनि उद्धार, खाना, पानी, कपडा र अन्य आवश्यक सामग्री लिएर प्रभावित क्षेत्रमा पुग्छन्। संकटको समयमा निर्माण हुने यस्तो सामाजिक एकता आफैंमा ठूलो मनोसामाजिक साथ र समर्थनको स्रोत हो।तर विपत्ति पछि समय लम्बिँदै जाँदा परिस्थिति परिवर्तन हुन सक्छ। राहत सामग्री समयमै बितरण नहुनु, राहत बितरणमा समता नहुनु, उद्धारमा ढिलासुस्ती वा असमानता देखिनु, सूचना अस्पष्ट हुनु वा सरकारी संयन्त्रप्रति विश्वास कमजोर हुनुजस्ता कारणले आक्रोश, आरोप(प्रत्यारोप र सामाजिक तनाव बढ्न सक्छ। त्यसैले विपत्तिपछिको व्यवस्थापन केवल राहत वितरणको विषय होइन, यो सामाजिक विश्वास पुनर्निर्माण गर्ने प्रक्रिया पनि हो।


यस अवस्थामा सामाजिक सञ्जालको भूमिका झन् संवेदनशील हुन्छ। विपत्तिको समयमा मानिस सूचना खोजिरहेका हुन्छन्।यस्तो अवस्थामा एउटा गलत सूचना, पुरानो वा एआई निर्मित भिडियो र अपुष्ट अफवाहले हजारौं मानिसमा डर र भ्रम फैलाउन सक्छ।अर्कोतर्फ, वास्तविक उद्धार तथा राहतका सूचनालाई सही ढंगले फैलाउन सामाजिक सञ्जाल अत्यन्त उपयोगी माध्यम बन्न सक्छ।त्यसैले विपत्तिको समयमा ूपहिले सत्य तथ्य जाँच, त्यसपछि मात्र पोस्ट र शेयरू गर्नु अत्यावश्यक हुन्छ।

अझ महत्वपूर्ण कुरा, विपत्तिलाई केवल आम्दानिको स्रोतको रुपमा सामाजिक सञ्जालको कन्टेन्ट बनाउने प्रवृत्तिबाट पनि हामी सचेत हुनुपर्छ। क्यामेरामा देखिएको दृश्य कसैका लागि केवल दृश्य हुन सक्छ, तर त्यही दृश्यभित्र कसैको घर, परिवार, जीविका, जीवन र उस्को समाज जोडिएको हुन्छ। त्यसैले पीडितको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थाको सम्मान गर्दै सामग्री सार्वजनिक गर्नुपर्छ।

विपत्तिपछि मनोसामाजिक असर समाधान गर्न के गर्ने

१। म सुरक्षित छु भन्ने अनुभूति दिलाउने
प्रभावित व्यक्तिलाई खाना, स्वच्छ पानी, सुरक्षित आश्रय र आवश्यक स्वास्थ्य सेवासँग जोड्नु पहिलो प्राथमिकता हो। उनीहरूलाई सहायता कहाँ र कसरी प्राप्त हुन्छ भन्ने स्पष्ट र विश्वसनीय जानकारी दिनुपर्छ। शारीरिक सुरक्षा स्थापित भएपछि मात्र मानसिक स्थिरताको आधार बन्छ।

२। परिवार र सामाजिक सम्बन्धसँग जोडिराख्ने।
विपत्तिको समयमा मानिसलाई आफ्नो परिवार, आफन्त, साथी र समुदायको साथ आवश्यक हुन्छ। परिवारका सदस्य छुट्टिएका छन् भने उनीहरूको खोजी तथा सम्पर्क स्थापित गर्न सहयोग गर्नुपर्छ। बालबालिका, वृद्धवृद्धा तथा अन्य संवेदनशील समूहलाई विशेष ध्यान दिनुपर्छ।

३। प्रभावित व्यक्तिको कुरा सुन्ने।
हरेक पीडितलाई तत्काल समाधान चाहिएको हुँदैन, कतिपयलाई पहिले आफ्नो कुरा सुनिदिने मानिस चाहिएको हुन्छ। उनीहरूलाई रुन, डर व्यक्त गर्न, दुःख सुनाउन वा आफ्नो अनुभव बाँड्न सुरक्षित वातावरण तयार गरिदिनुपर्छ। जबर्जस्ती घटना सम्झाउन वा भावनाहरू व्यक्त गर्न दबाब दिनु उचित हुँदैन।

४। सही सूचना दिने र अफवाह रोक्ने।
बाढीको अवस्था, उद्धारको प्रक्रिया, राहत वितरण, स्वास्थ्य सेवा तथा सुरक्षित स्थानसम्बन्धी जानकारी आधिकारिक र विश्वसनीय स्रोतबाट मात्र सम्प्रेषण गर्नुपर्छ। गलत सूचना र अफवाहले विपत्तिको वास्तविक क्षतिभन्दा ठूलो मनोवैज्ञानिक त्रास सिर्जना गर्न सक्छ।

५। आत्मनिर्भरता र आशाको भावना पुनर्स्थापित गर्ने।
पीडितलाई केवल राहतको प्राप्तकर्ता बनाएर राख्नु मात्र हुँदैन। उनीहरूलाई आफ्नो दैनिक जीवनमा क्रमशः फर्किन, आवश्यक निर्णयमा सहभागी हुन र आफ्ना आवश्यकता व्यवस्थापन गर्न सक्षम बनाउने वातावरण बनाउनुपर्छ। तपाईं एक्लै हुनुहुन्न, तपाईंलाई सहयोग गर्ने सरकार छ, संस्थाहरु छन र थुप्रै मानिसहरू छन् सबै मिलेर बिस्तारै अवस्था सुधार गर्न सकिन्छ, भन्ने यथार्थपरक आशा दिनु महत्वपूर्ण हुन्छ।

६। उद्धारकर्ता र स्वयंसेवकको मानसिक स्वास्थ्यलाई पनि ध्यान दिने।
सेना, प्रहरी, स्वास्थ्यकर्मी, चालक, स्वयंसेवक तथा निरन्तर उद्धारमा खटिएका व्यक्तिहरू पनि विपत्तिको प्रत्यक्ष मनोवैज्ञानिक प्रभावमा हुन्छन्। उनीहरूलाई आराम, खाना, निद्रा, सहकर्मीको समर्थन र आवश्यक परे मनोसामाजिक सहयोग उपलब्ध गराउनु पनि विपद् व्यवस्थापनकै हिस्सा हो।

७ लामो समयसम्म देखिने मानसिक स्वास्थ्य समस्यालाई बेवास्ता नगर्ने।
धेरैजसो मानिसमा विपत्तिपछि देखिने प्रारम्भिक डर, तनाव र शोक समयसँगै कम हुँदै जान सक्छ। तर लामो समयसम्म अत्यधिक डर, निराशा, निद्राको गम्भीर समस्या, दैनिक काम गर्न नसक्ने अवस्था, सामाजिक रूपमा पूर्ण अ(लगाव वा आत्महानीका विचार देखिएमा मानसिक स्वास्थ्य विशेषज्ञ वा सम्बन्धित स्वास्थ्य सेवामा जोड्नु आवश्यक हुन्छ।

प्राकृतिक विपत्ति नै रोक्न सम्भव नहुन सक्छ।तर विपत्तिले मानिसको जीवनमा पार्ने दोस्रो क्षति डर,चिन्ता,आबेग, भ्रम, सामाजिक अविश्वास, असहायपन र दीर्घकालीन मनोसामाजिक पीडा लाई कम गर्न भने हामी धेरै काम गर्न सक्छौं।यो प्राकृतिक विपत्तिले हामीलाई फेरि एउटा कुरा सम्झाएको छ, विपद् व्यवस्थापन भनेको केवल मानिसलाई अल्पकालीन समाधान दिनु मात्र होइनस मानिसलाई दिर्घकालिन समस्याबाट मुक्त गर्न अल्पकालीन उपायहरु अबलम्बन गर्नुपनि हो।


घर पुनर्निर्माण गर्न सकिन्छ, सडक र पुल फेरि बनाउन सकिन्छ, विद्युत् आयोजना पुनः सञ्चालन गर्न सकिन्छ। तर मानिसको मनमा बसेको भय, शोक र असुरक्षालाई बेवास्ता गरियो भने भौतिक पुनर्निर्माण पूरा भए पनि सामाजिक पुनर्स्थापना अधुरै रहन्छ।त्यसैले अहिले हाम्रो प्राथमिकता केवल कति क्षति भयोरु भन्ने प्रश्नमा सीमित हुनु हुँदैन। सँगसँगै अर्को प्रश्न पनि सोधिनुपर्छ, यस विपत्तिले मानिसको मनोभावनामा कति क्षति पुर्‍यायो, र त्यो मनोभावनालाई फेरि सुरक्षित महसुस गराउन हामी के गर्दैछौं? यही प्रश्नबाट वास्तविक मानवीय विपद् व्यवस्थापन सुरु हुन्छ।

लेखक ः सिताराम ढकाल मनोसामाजिक परामर्शदाताू हुनुहुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *