बाढी प्रभावितबारे प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका किस्पाङ अध्यक्ष पक्राउ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २९, सोमबार १७:५०


काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनलाई प्रहरीले सोमबार सिंहदरबार परिसरबाट पक्राउ गरेको हाे ।


।प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग गरेको छलफलमा सहभागी भएर बाहिरिने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पक्राउपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ।


सोमबार प्रधानमन्त्री शाहले रसुवालगायत बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग राहत, पुनःस्थापना तथा पुनर्निर्माणका विषयमा छलफल गरेका थिए। उक्त छलफलमा किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ पनि सहभागी थिए।
बैठकमा सहभागी रसुवाको आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार छलफल सकिएपछि प्रहरीले वीरबल तामाङलाई पक्राउ गरेर लगेको थियो।


तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी परेपछि प्रहरी वृत्त दरबारमार्गले गत वैशाख २८ गते काठमाडौं जिल्ला अदालतमा पक्राउ अनुमति माग्दै पत्र पठाएको थियो। अरुण अर्यालको जाहेरीका आधारमा नेपाल सरकार वादी र वीरबल तामाङ प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले अदालतसँग अनुमति मागेको थियो।


प्रहरीको पत्रमा जाहेरी दरखास्त तथा बैंक विवरणबाट घटनामा तामाङको संलग्नता देखिएको उल्लेख गर्दै पक्राउ गर्न अनुमति मागिएको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम तामाङको नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो।


सोही अदालतको अनुमतिका आधारमा उनलाई सोमबार सिंहदरबार परिसरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। तामाङ नुवाकोटको किस्पाङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। काठमाडौं महानगरपालिका–१६, नयाँबजारमा उनको ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर सञ्चालनमा रहेको बताइएको छ। उनीमाथि बैंकिङ कसुरबाहेक ठगीसम्बन्धी थप आरोपसमेत रहेको बताइएको छ।


प्रहरीले पक्राउपछि तामाङमाथि लागेको आरोपबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *