नुवाकोट । बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त उत्तरगया पब्लिक बोर्डिङ स्कुलका विद्यार्थीको शैक्षिक निरन्तरताका लागि प्याब्सन नुवाकोटले सदस्य विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णय गरेको छ।
२०८३ भदौ ३० गते बसेको प्याब्सन नुवाकोटको बैठकले हालको विषम परिस्थितिमा उत्तरगया पब्लिक बोर्डिङ स्कुल सञ्चालन गर्न कठिन रहेकाले त्यहाँ अध्ययनरत बाढी प्रभावित विद्यार्थीलाई प्याब्सनका सदस्य विद्यालयमा निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णय गरेको अध्यक्ष पुरुषाेत्तम अधिकारीले जानकारी दिनुभयो ।
प्याब्सन नुवाकोटले प्रभावित विद्यार्थीका अभिभावक तथा संरक्षकलाई आफूलाई पायक पर्ने सदस्य विद्यालयबारे प्याब्सन कार्यालयमा सम्पर्क गरी जानकारी लिन आग्रह गरेको छ। साथै, सम्बन्धित अभिभावकलाई आफ्ना बालबालिकाको अध्ययन निरन्तरताका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
बाढीका कारण विद्यालय सञ्चालनमा समस्या आए पनि विद्यार्थीको शैक्षिक भविष्य प्रभावित हुन नदिन सदस्य विद्यालयमार्फत अध्ययनको वातावरण उपलब्ध गराउने निर्णय गरिएको प्याब्सन नुवाकोटले जनाएको छ।
‘विद्यार्थीको पढाइ रोकिँदैन—प्याब्सन सदस्य विद्यालयहरू साथमा छन्’ भन्ने भावनासहित प्रभावित विद्यार्थीलाई शैक्षिक निरन्तरताका लागि सहयोग गर्ने प्याब्सन नुवाकोटको निर्णय हो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्