ककनी–२ मा बहाल सभापतिको नाम हटाएर अर्कैको नाम राखिएपछि सच्याइयो, सूर्यगढी–५ र तादीका वडामा पनि यस्तै समस्या
नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी भइरहेका बेला पार्टीको केन्द्रीय कार्यालय सानेपाबाट सञ्चालन भइरहेको डिजिटल प्रणालीमा एकपछि अर्को त्रुटि देखिन थालेको छ।
नुवाकोटको ककनी गाउँपालिका–२ मा बहालवाला वडा सभापति कुमार गोतामेको नाम हटाएर कृष्ण तामाङलाई वडा सभापतिका रूपमा डिजिटल प्रणालीमा राखिएपछि स्थानीय कांग्रेस नेताहरूले त्यसबारे केन्द्रीय कार्यालयमा प्रश्न उठाएका थिए। त्यसपछि उक्त नाम हटाएर पुनः कुमार गोतामेको नाम अपलोड गरिएको बताइएको छ। ककनी–२ का वडा सभापति गोतामेले आफू १४औँ वडा अधिवेशनबाट निर्वाचित सभापतिका रूपमा कार्यरत रहेको भन्दै यसअघि नै सार्वजनिक रूपमा स्पष्टोक्ति दिएका थिए।
स्थानीय कांग्रेस नेताहरूका अनुसार ककनी–२ को विषयमा केन्द्रीय तहका नेताहरू राजन न्यौपानेसहितले समेत कार्यालयमा प्रश्न उठाएपछि डिजिटल विवरण सच्याइएको हो।
यस विषयमा महामन्त्री प्रदीप पौडेल र सहमहामन्त्री उदयशमशेर राणाले समेत प्राविधिक/विवरण अद्यावधिकका क्रममा गल्ती भएको स्वीकार गर्दै सच्याइएको जनाइएको छ।
ककनी–२ मा देखिएको समस्या सेलाउन नपाउँदै सूर्यगढी गाउँपालिका–५ मा पनि यस्तै प्रकृतिको त्रुटि देखिएको कांग्रेस नेताहरूको भनाइ छ। बहालवाला वडा सभापति रामचन्द्र बोगटी रहँदै गर्दा तथा वडा अधिवेशनको मिति नजिकिँदै गर्दा डिजिटल प्रणालीमा दिवाकर अधिकारीकाे व् नाम वडा सभापतिका रूपमा अपलोड गरिएको छ।
त्यस्तै तादी गाउँपालिकाका वडा नम्बर ५ र ६ मा समेत यस्तै प्रकृतिका विवरणसम्बन्धी समस्या देखिएको कांग्रेस नेताहरूले बताएका छन्।
पार्टीको आधिकारिक वेबसाइटले केन्द्रीय कार्यालय सानेपाबाट प्रदेश, जिल्ला, स्थानीय समिति तथा अन्य पार्टी संरचनाको काम समन्वय हुने जनाएको छ। यस्तो अवस्थामा वडा तहका निर्वाचित पदाधिकारीको विवरणमै पटक–पटक त्रुटि देखिनुले महाधिवेशनको डिजिटल व्यवस्थापन र विवरण प्रमाणीकरणको प्रक्रियामाथि प्रश्न उठेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्।
वडा अधिवेशनको मिति नजिकिँदै गर्दा बहालवाला पदाधिकारीको नाम हटाएर अर्कै व्यक्तिको नाम राखिने र पुनः सच्याउने क्रमले पार्टीभित्र थप अन्योल सिर्जना गरेको छ। विशेषगरी संस्थापन पक्षबाट आयोजना हुने अधिवेशनको तयारीकै क्रममा यस्ता त्रुटि देखिन थालेपछि नुवाकोट कांग्रेसको तल्लो तहसम्म यसको प्रभाव परेको नेताहरूको भनाइ छ।
सूर्यगढी गाउँपालिका–५ सहितका स्थानीय संरचनासम्बन्धी विवरणमा देखिएको विषयबारे भने सम्बन्धित पक्षको थप औपचारिक धारणा सार्वजनिक हुन बाँकी छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्