काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमा राखिएका पार्टीका नेतृत्व तहका विवरण अद्यावधिक गर्ने क्रममा नुवाकोट क्षेत्र नं. १ का क्षेत्रीय सभापति धुर्व श्रेष्ठको नाम र पदसमेत हटाएको छ।
कांग्रेसको संस्थापनइतर पक्षमा रहेका श्रेष्ठको नाम वेबसाइटबाट हटाइए पनि नुवाकोट क्षेत्र नं. २ का सभापति जगतबहादुर तामाङको तस्बिर र पद भने कायम देखिन्छ। यस्तै प्रदेश तहका नेताहरू रामजी पौडेल र गणेश लामाको विवरणसमेत वेबसाइटबाट हटाइएको बताइएको छ।
अर्कोतर्फ, गत स्थानीय तहको निर्वाचनकै क्रममा एमाले प्रवेश गरेका सुशील खड्कालाई क्षेत्रीय उपसभापतिको रूपमा वेबसाइटमा देखाइएको विषयले पनि कांग्रेसभित्र थप प्रश्न उठाएको छ।
कांग्रेस नुवाकोटमा क्षेत्रीय अधिवेशन असोज ११ गते गर्ने निर्वाचन समितिले निर्णय गरिसकेको छ। नयाँ कार्यसमिति चयन हुनुअघि नै नेतृत्व तहका पुराना विवरण हटाइएको भन्दै संस्थापनइतर पक्षका नेताहरू केन्द्रीय कार्यालयसम्म पुगेका थिए।
सर्वाेच्च अदालतले मुद्दा विचाराधिन अवस्थामा राखेको र दुवै पक्षलाई महाधिवेशन गर्न खुला रहेको भन्दै संस्थापनपक्षले एकलमैटी रुपमा नेतालाई हटाउने काम गरेको भन्दै इतर पक्षका नेताहरूले आपत्ति जनाएका छन् ।
यसअघि वडा अधिवेशन सुरु हुनुअघि नै पुराना वडा सभापतिहरूको नाम हटाएर नयाँ सभापतिको नाम वेबसाइटमा राखिएको विषयमा समेत विवाद भएको थियो। वेबसाइटमा गरिएको यस्तो अद्यावधिकप्रति संस्थापनइतर पक्ष मात्र नभई संस्थापन पक्षमा रहेका केही नेताहरूले समेत असन्तुष्टि जनाएका छन्।
कांग्रेस संस्थापन पक्षले भने भोलि वडा अधिवेशन गर्ने तयारी गरिरहेको छ। संस्थापनइतर पक्षमा रहेका नेताहरूलाई समेत अधिवेशनमा सहभागी हुन दबाब दिइएको गुनासो आएको एक इतरपक्षीय नेताले बताए।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्