विदुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापनको रकममा गरिएको कटौती र विभेदकारी कार्यविधिको विरोध गर्दै जिल्ला हुलाक कार्यालय नुवाकोटमार्फत लोककल्याणकारी विज्ञापनको बिल नबुझ्ने घोषणा गरेको छ।
महासंघ नुवाकोटका अध्यक्ष रामहरि गजुरेल र सचिव सुनिल श्रेष्ठ, पत्रकार देवचन्द्र भट्ट , इमेज साप्ताहिकका प्रकाशक भाेलाराज पाैडेलसहितका पत्रकारहरुकाे टाेलीले साेमबार कामु कार्यालय प्रमुख गाेपाल अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
साथै महासंघ अध्यक्ष गजुरेल र सचिव श्रेष्द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ प्रति गम्भीर आपत्ति जनाइएको छ। महासंघले उक्त कार्यविधिमार्फत लोककल्याणकारी विज्ञापनको रकममा ५० प्रतिशतसम्म कटौती गरिएको उल्लेख गरेको छ।
भोटेकोशी बाढीपछि मुलुक राष्ट्रिय विपत्तिको संवेदनशील अवस्थामा रहेका बेला छापा माध्यमको आर्थिक अवस्था थप कमजोर बनाउने गरी विज्ञापन रकम कटौती गरिएको महासंघको भनाइ छ। कोभिड–१९ महामारीपछि उत्पन्न आर्थिक मन्दी तथा कागज र प्रेस सामग्रीको मूल्यवृद्धिले सञ्चारमाध्यम थप संकटमा रहेको भन्दै महासंघले यस्तो अवस्थामा राज्यबाट संरक्षण र प्रोत्साहन आवश्यक रहेको जनाएको छ।
ज्ञापनपत्रमा केन्द्रीय समितिको निर्देशनविपरीत विभेदकारी कार्यविधि कार्यान्वयन गर्दै विज्ञापन बोर्डले बिल बुझ्ने वा बुझाउने प्रक्रिया अघि बढाउन खोजेको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने उल्लेख गरिएको छ।
महासंघले विभेदकारी कार्यविधि पूर्ण रूपमा खारेज नभएसम्म र विज्ञापन भुक्तानीसम्बन्धी विवाद समाधान नभएसम्म जिल्ला हुलाक कार्यालय नुवाकोटमार्फत कुनै पनि छापा माध्यमको लोककल्याणकारी विज्ञापनको बिल नबुझन आग्रह गर्दै पत्रकारले भुक्तानीका लागि बिल नबुझाउने जनाएको छ।
माग बेवास्ता गरी बिल बुझ्ने प्रक्रिया जारी राखिए तालाबन्दीलगायत कडा संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत महासंघले दिएको छ। यसअघि नेपाल पत्रकार महासंघले पनि लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने निर्णय गरिसकेको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्